काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको वार्ता नहुने भएको हो ।
खेलाडीहरुले वार्ताको प्रत्यक्ष प्रशारण नगरेमा वार्ता नगर्ने अडान लिएपछि एन्फाका पदाधिकारीले सो प्रस्ताव अस्वीकार गरेपछि आफुहरु वार्तामा नबसेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले जानकारी दिएका छन् ।
एन्फाले ए डिभिजन लिग यसैबर्ष गराउनुपर्ने माग गर्दै खेलाडी आन्दोलनमा उत्रिएका छन् ।
अध्यक्ष लामाले सूचनाको हकअन्तर्गत आफुहरुले सबै सम्बन्धित पक्षले यसबारे जानकारी पाउनुपर्ने भन्दै वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गरेको बताएका छन् । उनले आफूहरुका आन्दोलनका कार्यक्रम लगातार गर्ने बताएका छन् ।
कात्तिक १७ मा एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमति अनुसार २०८३ को पुसदेखि ए डिभिजन गर्ने निर्णय गरेपछि खेलाडी आन्दोलित भएका छन् ।
पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन ।
प्रतिक्रिया