×

ललिता निवास प्रकरणः थुनछेक बहस सकियो, आजै आदेश आउने

images


काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।

आज १८ औ नम्बरको प्रतिवादीका रुपमा समरजंग कम्पनीका तत्कालीन कार्यालय प्रमुख लोकहरी घिमिरेको तर्फबाट बहस भएको थियो । उनको तर्फबाट अधिवक्ता मनोज भण्डारी, कञ्चनकृष्ण न्यौपाने र वरिष्ठ अधिवक्ता कमल प्रकाश घिमिरेले बहस गरेका थिए । 

यसैगरी सरकारी वकिलमा सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवाली  चन्द्र सञ्जेलले उठेका विषयहरुमा जवाफी बहस गरेका थिए । त्यससँगै न्यायाधीशले आइतबार दिँउसो ४ बजेसम्ममा आदेश सुनाउने बताउँदै इजलास टुंग्याएका हुन् । 

यो प्रकरणमा  शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ र कलाधर देउजा  मीनबहादुर गुरुङ, घमनकुमार कार्की, गोपाल कार्की र विनोद प्रसाद पौडेल थुनामा रहेका छन् । 

यस्तै योगराज पौडेल, नारायणदास मिश्र, अरुण कुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बावुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरी घिमिरेसहित ललिता निवास प्रकरणमा १८ जना थुनामा रहेका हुन् ।

बहसपछि आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुने बताइएकाे छ ।

आइतबार​ २४ भदौ २०८० ०२:५१ PM मा प्रकाशित

प्रतिक्रिया