×

सुशासनको अभाव र बढ्दो आर्थिक संकटले लोकतन्त्रको जग कमजोर बन्यो: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

images

ई संचार पाटी
काठमाडौँ, २३ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्र र संविधानको रक्षामा चुनौती थपिएको बताउनुभएको छ। शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले यस्तो बताएकी हुन् । उहाँले राजनीतिक दलहरूको ढिलासुस्ती, नीतिगत विचलन र बढ्दो सुशासनको अभावका कारण नागरिकमा नैराश्यता बढेको र यसले व्यवस्थामाथि नै खतरा पैदा गरेको दाबी गर्नुभयो।

लामो संघर्ष र नेपाली जनताको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानलाई संस्थागत गर्न प्रमुख दलहरू गम्भीर नभएको उहाँको आरोप छ।

पूर्वराष्ट्रपति भण्डारीले संविधान निर्माण भएको एक दशक पुग्न लाग्दा पनि आम नागरिकले सोचे अनुरूपको परिवर्तन महसुस गर्न नसकेको तर्फ सचेत गराउनुभयो। "संविधान आफैमा पूर्ण हुने होइन, यसलाई सञ्चालन गर्ने नेतृत्वको नियत सफा हुनुपर्छ," उहाँले भन्नुभयो, "तर वर्तमानमा राजनीतिक दल र नेतृत्व जनभावना भन्दा बाहिर गएर सत्ता केन्द्रित खेलमा मात्र अल्झिएको देखिन्छ। यसले गर्दा संविधान र लोकतन्त्र विरोधी शक्तिहरूलाई बल पुग्ने खतरा बढेको छ।"

उहाँले देशमा सुशासन कायम गर्न, विधिको शासन बलियो बनाउन र राज्यका प्रमुख अंगहरूलाई निष्पक्ष रूपमा चल्न दिन सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

वक्तव्यका क्रममा पूर्वराष्ट्रपति भण्डारीले मुलुकको खस्कँदो आर्थिक अवस्था र बढ्दो भ्रष्टाचारको शृङ्खलाले लोकतन्त्रको जग कमजोर बनाउँदै लगेको टिप्पणी गर्नुभयो। युवा पुस्तामा देखिएको चरम असन्तुष्टि र दैनिक रूपमा भइरहेको जनशक्ति पलायनलाई नरोक्ने हो भने देश संकटको भुमरीमा फस्ने उहाँको तर्क थियो।

उहाँले भन्नुभयो, "जबसम्म जनताले राज्य मेरो अभिभावक हो र यो व्यवस्थाले मेरो हित गर्छ भन्ने विश्वास गर्न पाउँदैनन्, तबसम्म लोकतन्त्र सुरक्षित रहन सक्दैन।" उहाँले राजनीतिक दलहरूलाई आफ्ना आन्तरिक विवाद र स्वार्थ त्यागेर राष्ट्रिय हित र जनताको आर्थिक समृद्धिको एजेन्डामा केन्द्रित हुन समेत आग्रह गर्नुभयो।

नेपालको संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमहरूले खबरदारी गरिरहनुपर्ने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो।


यस

शुक्रबार​ २३ असोज २०८३ ०७:४१ PM मा प्रकाशित

प्रतिक्रिया