ई संचार पाटी
धादिङ, २३ असोज । राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने मुख्य लाइफलाइन मानिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गलौँदीमा सडक भासिएको छ। गजुरी गाउँपालिका वडा नम्बर ६ गलौँदीमा शुक्रबार अपराह्न सडकको ठुलो खण्ड खसेपछि मुग्लिन-काठमाडौँ सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।
सडकको आधाभन्दा बढी भाग त्रिशूली नदीतर्फ भासिएकाले साना तथा ठुला कुनै पनि सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
चाडबाडको समय नजिकिँदै गर्दा र सर्वसाधारणको आवतजावत बाक्लो भइरहेका बेला मुख्य राजमार्ग नै ठप्प भएपछि हजारौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। काठमाडौँ भित्रिँदै गरेका र राजधानीबाट बाहिरिँदै गरेका सवारी साधनहरूको राजमार्गमा किलोमिटरसम्म लामो लाइन लागेको छ। बिरामी बोकेका एम्बुलेन्स, अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन र विशेष कामले हिँडेका यात्रुहरू गलौँदी र आसपासका क्षेत्रमा रोकिएका छन्।
सडक भासिएको सूचना पाउनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र गजुरीबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरी सडक मर्मत गर्ने वा भित्तातर्फको पहाड काटेर वैकल्पिक ट्र्याक खोल्ने विषयमा प्राविधिकहरूले सम्भाव्यता अध्ययन सुरु गरिसकेका छन्।
प्रहरीका अनुसार सडकको जग नै त्रिशूली नदीतर्फ बगेकाले तत्कालै एकतर्फी खुलाउन पनि निकै चुनौती देखिएको छ। सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने अनुमान गरिएको छ।
जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीले मुग्लिन-काठमाडौँ सडक खण्ड पूर्ण रूपमा बन्द भएकाले हतारमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न यात्रु तथा सवारी चालकहरूलाई अपिल गरेको छ। काठमाडौँ आउने वा बाहिरिने साना सवारी साधनहरूलाई त्रिभुवन राजपथ (नौबिसे-हर्नैया-हेटौँडा) वा हेटौँडा-सिन्धुली-बर्दिवास (बिपी राजमार्ग) को प्रयोग गर्न सुझाव दिइएको छ।
मर्मत कार्यलाई तीव्र बनाउनका लागि आवश्यक हेभी इक्विपमेन्ट (डोजर र एस्काभेटर) घटनास्थलमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया