काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकमार्फत सुन तस्करी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार त्रिभुवन विमानस्गलबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरोहका १२ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव, कपिलवस्तुको सुद्धोधन नगरपालिका–६ का २३ वर्षीय धर्मप्रसाद मुराउ रहेका छन् ।
यस्तै, धनुषाको जनकपुरधाम–५ का ३४ वर्षीय पिधी पञ्जियार, बाँकेको राप्ती सोनारी ५ का ३६ वर्षीय लालबहादुर वली, सप्तरीको बलामबिहु–२ का २७ वर्षीय किसुनलाल साहु तेली, सोही नगरपालिका–१ का ३५ वर्षीय विनोदकुमार शाह र सोही नगरपालिका–६ का २२ वर्षीय आशाराम यादवलाई पनि प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
सप्तरीको बोदिबर्साइन–१ का २८ वर्षीय रामेश्वर शाह, सिरहाको लहान–४ का लेलेन्द्रकुमार राउत, सिरहाको धनगढी–३ का २३ वर्षीय देवनारायण यादव, सर्लाही बरहथवाका ५६ वर्षीय गुमिक शाहलाई प्रहरीले सार्वजनिक गरेको छ । तस्करी गर्नेहरुले ५–१० हजार रुपैयाँ दिएर वा होटलमा निशुल्क बस्ने सुविधा दिएर श्रमिकलाई सुन बोकाउने गरेको प्रहरीको दाबी छ ।
प्रहरीले उनीहरुलाई भरिया बनाउने गिरोहको पनि पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ । वैदेशिक रोजगारीमा रहेकाहरुले सिरहाको रितेश जनरल स्टोरका सञ्चालक शिवसुन्दर राउतको सुन बोकेर ल्याएको प्रहरीले जनाएको छ । शिवसुन्दरले अवैध सुन ल्याउनका लागि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकाहरुलाई परिचालन गर्दै आएको खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले सन् ०१९ देखि उनको खातामा १ अर्ब ९६ करोड कारोबार देखिएको बताए । शिवसुन्दर राउतलाई प्रहरीले सिरहाबाटै पक्राउ गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै सिनामंगलमा बी हिमालयन स्पायर होटल सञ्चालन गर्दै आएका विनोद कुमार शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी सुन संकलनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रहरीका अनुसार कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा उनीहरूलाई सम्पर्क गरी नेपाल पुग्दा होटलमा खानबस्न फ्री, घर जाने बेलामा मेरो मान्छेले पाँच हजार रुपैयाँ दिन्छ, सो बापत तिमीहरूले ५० ग्राम सुन बिलसहित लिएर जाउ, उक्त सुन कानुन बमोजिम लैजान पाईन्छ, काठमाडौंको एयरपोर्टमा पुगेपछि मेरो मान्छेले रिसिभ गरेर होटलमा लैजान्छ, तिमीले उक्त सुन दिनु भनि विश्वस्त पार्ने गरेका थिए।
त्यसपछि सो समूहले नेपाल फर्कने श्रमिकहरूले लगाएको लुगासहित फोटो खिची काठमाडौंमा आफ्नो विनोद साहलाई ह्वाट्सएप मार्फत पठाई दैनिक १५–२० जनालाई ५०–५० ग्रामको दरले पठाउने गरेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया