×

बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन-- प्रधानमन्त्री प्रचण्ड 

images

 

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूप्रति सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । 

सोमबार सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि आवश्यक सुझाव संकलनार्थ सरोकारवालसँगको छलफलमा उनले अराजक प्रवृत्तिलाई छुट नदिने उद्घोष गरे ।
उनले भने “बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन” प्रधानमन्त्रीले भन्नुभयो, “हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ।”

त्यस्तै उनले ब्याजदर घटाउन सरकारले विभिन्न उपायहरू खोजिरहेको बताए । 
बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लागेको उनको दाबी छ । उनले भने “अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।”

सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सकिने बताएका प्रचण्डले, एकअर्कालाई आरोपित गरेर समस्या समाधान नहुने बताए । “विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ” उनले भने “बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ।”

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताएका छन् । 
बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो।


 

सोमबार २७ चैत २०७९ ०६:१४ PM मा प्रकाशित

प्रतिक्रिया