काठमाडौँ- काठमाडौँबाट ओखलढुंगाको पोकलीतर्फ गुडेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। नेपाल प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार पछिल्लो अपडेटअनुसार १२ जनाको मृत्यु र ७ जना घाइते छन्।
मृत्यु भएका मध्ये १० जनाको सनाखत गरिएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवालको मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.केशवसिंह धामीले जानकारी दिए ।
यस्तै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङको दुर्घटनामा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट धामीले जानकारी दिए । मृतक दुई जनाको भने सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार खुर्कोट-मन्थली सडक खण्डको सेलेघाट नजिक बेनी मन्दिरछेउबाट प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान पौने ११ बजे तामाकोशी नदीमा खसेको हो। बस काठमाडौँबाट मन्थली, धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको थियो।
प्रतिक्रिया