×

स्वतन्त्रले देश चलाउन सक्दैनन्, देश विकास गर्न सुदृढ पार्टी आवश्यक- अध्यक्ष ओली

images

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले मात्र देश विकास गर्ने दाबी गरेका छन् । बुधबार झापामा आयोजित चुनावी भेलामा उनले अन्य पार्टीसँग देश चलाउने, संगठन चलाउने, पार्टी चलाउने बुद्धि नै नभएको दाबी गरे ।‘देश चलाउन, पार्टी चलाउन त बुद्धि चाहियो नि, तर अरु दलमा त्यस्तो देखिएको छैन । त्यसैले एमालेले मात्र देश चलाउने हैसियत राख्छ,’ ओलीले भने ।

उनले जनतालाई अधिकार सम्पन्न बनाउने गरी एमाले अघि बढेको बताए । ‘हामीले १७ हजार मानिस क्रान्तिको सपना देखाएर उक्साएर, भड्काएर मारेको देख्यौं,’ उनले भने, ‘ती सहिदका परिवार आज के गर्दैछन् ? घाइतेहरू के गर्दैछन् ? उनीहरूको जीवन अवस्था कस्तो छ ? त्यो हेर्नुपर्दैन । क्रान्तिको सपना देखाएर पार्टीको नेतृत्व लिने दुई दुईपटक प्रधानमन्त्री बने ।

अहिले पनि गठबन्धनको सरकारमा छन् । तर एमालेले मात्र द्वन्द्वका पीडित घाइते र प्रभावितहरूको जीवन निर्वाह गर्न भत्ताको व्यवस्था गरेको छ ।’ ओलीले एकीकृत समाजवादी भन्ने पार्टी नै नभएको दाबी गरे । उनले माधवकुमार नेपाल एमाले सिध्याउने अभियानमा लागेको आरोप गर्दै एकीकृत समाजवादीको हैसियत मंसिर ४ गतेको निर्वाचनले देखाउने बताए ।

ओलीले रवि लामिछानेप्रति इंगित गर्दै पत्रकारिता गर्न छाडेर राजनीति गर्न आएको, उम्मेदवार दिएको भन्दै घन्टी बजाएर, लौरो टेकेर आउने स्वतन्त्रबाट देश नचल्ने दाबी गरे । उनले देश विकास गर्न सुदृढ पार्टी आवश्यक पर्ने बताए । उनले गठबन्धन सरकारले जे पनि गर्न सक्ने भन्दै चनाखो भएर बस्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । साथै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै आफूलाई निजी स्वार्थको कुनै प्रवाह नभएको पनि बताए । 

‘म तपाईँहरूले छानेको प्रतिनिधि जोगी र सन्यासी जस्तै हो । जनताले जे उपहार दिन्छन् त्यो जनतालाई नै बाँड्ने हो’, ओलीले भने, ‘मलाई धन कमाउनु छैन । झापाको मान्छे मुगु र हुम्लाका छोराछोरी पढाएको छु, सम्पत्ति कमाउनु छैन ।’

 

बुधबार २३ कात्तिक २०७९ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया