×

गगन थापाको आक्रोश— ‘भदौ २३ मा दमन गर्ने र २४ मा अपराध गर्ने सबैले सजाय पाउनुपर्छ’

images

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले गत वर्षको भदौ २३ र २४ गते भएका हिंसात्मक घटना, राज्य दमन तथा सार्वजनिक सम्पत्तिमाथिको तोडफोडमा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

जननायक बीपी कोइरालाको ११३ औँ जन्मजयन्ती तथा बीपी स्मृति दिवसका अवसरमा जारी भिडियो सन्देशमार्फत सभापति थापाले भदौ २३ को जेनजी आन्दोलनमा भएको राज्यको चरम दमन, आन्दोलन भड्काउन भएको घुसपैठ र २४ गते सार्वजनिक संरचनामाथि भएको आयोजित ध्वंसमा संलग्न कसैलाई पनि छुट दिन नहुने बताएका हुन्।

भदौ २४ गतेको घटनामा आफ्नो निजी घरसमेत जलेर नष्ट भएको र परिवारका सदस्यहरू जोखिममा परेको स्मरण गर्दै थापाले उक्त व्यक्तिगत क्षति र पीडा गौण रहेको उल्लेख गरे।

“भाद्र २४ गते मेरो घर जल्यो, मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो। तर म र म जस्ता व्यक्तिहरूको जलेको घरको पीडा त्यतिबेला गौण हुन्छ, जुन बेला हाम्रा अगाडि आफ्नो सन्तान गुमाएका शहीदका आमाहरू र जीवनभरका लागि घाइते भएका युवाहरू उभिनुहुन्छ,” थापाले भने। उनले त्यो घटना केवल आफ्नो घर वा व्यक्तिको पीडाको विषय नभई सिंगो समाजसँग जोडिएको व्यापक मुद्दा भएको स्पष्ट पारे।

भदौ २३ गतेको घटनालाई सम्झँदै कांग्रेस सभापति थापाले उक्त दिन देशका नौजवान युवाहरूले सुशासन, भ्रष्टाचारमुक्त राज्य र समान अवसरका लागि अदम्य साहसका साथ आक्रोश व्यक्त गरेको बताए। असन्तुष्टि जनाउन सडकमा ओर्लिएका शान्तिपूर्ण आन्दोलनकारी युवाहरूमाथि राज्य संयन्त्रबाट अत्यधिक बल प्रयोग र दमन गरिएको उनको आरोप छ। शान्तिपूर्ण प्रदर्शनभित्र छिरेर हिंसा भड्काउने र युवाहरूलाई उक्साउने समूह को थिए, तिनको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्ने उनले माग गरे।

भदौ २३ गतेको दमनपछि २४ गते नागरिकमा स्वाभाविक आक्रोश र आवेग भए पनि त्यसलाई प्रयोग गरेर ठूलो प्रायोजित हिंसा गराइएको थापाको भनाइ छ।

“नेपालले अहिलेसम्म कहिल्यै नदेखेको ध्वंस त्यो दिन देख्यो। को थिए सिंहदरबार जलाउने? को थिए अदालत जलाउने? कसले गर्‍यो र किन आज कोही चुइँक्क बोल्दैन?” उनले प्रश्न गरे, “आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ। तर जसले त्यो आवेगलाई ढाल बनाएर अपराध र ध्वंस गरेको छ, उसले कुनै हालतमा माफी पाउनु हुँदैन; उसले दण्ड पाउनैपर्छ।”

 वर्तमान सरकारले सत्ता सम्हाल्दा भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले सो अनुसन्धान कहाँ पुग्यो भनी प्रश्न गरे। भदौ २३ गतेको घटनाबारे सरकारले गठन गरेको अध्ययन समितिको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने उनको अडान छ। राज्य संयन्त्र क्षणभरमै काम नलाग्ने कसरी भयो भन्ने खोजी हुनुपर्ने र दोषीलाई कारबाही नगरिए आगो लगाउने र अपराध गर्ने प्रवृत्तिले प्रश्रय पाइरहने उनले चेतावनी दिए।

थापाले भदौ २३ मा दमन गर्ने, हिंसा भड्काउने तथा भदौ २४ मा संगठित अपराध गर्ने सबै पक्षमाथि कडा कानुनी कारबाही भएमा मात्र नेपाल साँचो अर्थमा जवाफदेही र न्यायपूर्ण राज्य बन्ने बाटोमा अघि बढ्ने बताए।

बुधबार २४ भदौ २०८३ ०४:५४ PM मा प्रकाशित

प्रतिक्रिया