काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं आन्दोलनमा ज्यान गुमाएका शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी शहीदहरूले कहिले न्याय पाउँछन् भन्दै सरकारसँग गम्भीर प्रश्न गरेकी छिन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खतिवडाले शहीद परिवार र घाइतेहरूलाई राज्यले बेवास्ता गरेको भन्दै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाइन्। उनले शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएकोमा दुःखेसो समेत व्यक्त गरिन्।
सांसद खतिवडाका अनुसार मंगलबार आयोजित जेनजी शहीद स्मृति सभामा उपस्थित हुन, शहीदहरूबारे बोलिदिन र केही लेखिदिनका लागि बिहान ७ बजेदेखि नै प्रधानमन्त्रीलाई लगातार आग्रह गरिएको थियो।
“जेनजी आन्दोलन भएको एक वर्ष भयो। यो आन्दोलनका कारण देशले शहीद पायो, एक दिन बिदा पायो,” संसदमा बोल्दै उनले भनिन्, “निमन्त्रणा दिएर कि त आइदिनुस्, केही त बोलिदिनुस्, जेनजी शहीदको नाममा केही त लेखिदिनुस् भनेर बिहान ७ बजेबाट भन्दा भन्दा बेलुकी ७ बजे स्टाटस त आयो। अन्तमा एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली ।”
सरकारलाई दुई प्रमुख प्रश्न
सम्बोधनका क्रममा सांसद खतिवडाले वर्तमान सरकारलाई लक्षित गर्दै दुईवटा प्रश्न अघि सारेकी छिन्:
शहीदले न्याय कति वर्षमा पाउँछ सरकार ?
शहीद र घाइते परिवारलाई भेट्न अब कति वर्ष लाग्छ ?
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी रचना रास्वपाको तर्फबाट समानुभातिक सांसद बनेकी हुन्। छोरा गुमाएको एक वर्ष पुगिसक्दा पनि शहीद परिवारले न्याय र उचित अभिभावकत्व नपाएको भन्दै उनले संसदबाटै सरकारको ध्यानाकर्षण गराएकी हुन्।
प्रतिक्रिया