काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिका बेला नागरिकले पोखेको आक्रोशलाई राज्यसत्ताले समानुभूति र दायित्वका साथ ग्रहण गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नागरिकको आक्रोशलाई सरकार वा नेतृत्वविरुद्धको प्रहार नभई राज्य गुहार्ने अन्तिम चित्कारका रूपमा बुझ्नुपर्ने स्पष्ट पारे।
“नागरिकको आक्रोश सुन्ने, सहने र उनीहरूको आँसु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो,” लामिछानेले भने, “उनीहरूको अवस्था र मनस्थितिलाई समानुभूतिका साथ महसुस गर्नु नै हाम्रो मुख्य दायित्व हो।”
सम्बोधनका क्रममा उनले हालैको प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकहरूलाई केवल प्राकृतिक विपत्तिका मृतक मात्र नभई ‘जलवायु अन्यायका पीडित’का रूपमा लिनुपर्नेमा जोड दिए। नेपालले कार्बन उत्सर्जनमा भूमिका नखेले पनि जलवायु परिवर्तनको ठूलो मूल्य चुकाउनुपरेको उल्लेख गर्दै उनले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायका लागि प्रभावकारी ढङ्गले आवाज उठाउनुपर्ने बताए।
विपद्का समयमा अहोरात्र खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी तथा उद्धारकर्ताहरूको प्रशंसा गर्दै उनले विपत्तिको यो कठिन घडीमा राजनीतिभन्दा माथि उठेर सबै एकबद्ध हुनुपर्ने धारणा राखे।
प्रतिक्रिया