×

काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउने सरकारको निर्देशन, पालना नगरे कडा कारबाही

images

काठमाडौं — हालै परेको अविरल वर्षा र बाढीका कारण मुख्य राजमार्गहरू अवरुद्ध भई आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। बजारमा ग्यासको हाहाकार मच्चिन थालेपछि सरकारले उपभोक्तालाई राहत दिन वैकल्पिक व्यवस्था र कडा कदम चाल्ने निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकाभित्र ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न कडा निर्देशन दिएकी छन्। मन्त्री यादवको निर्देशनअनुसार अब उपत्यकाका उपभोक्ताले आफूले नियमित प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएमा अन्य कुनै पनि कम्पनीको खाली सिलिन्डर साटेर उही मूल्यमा अर्को कम्पनीको ग्यास लिन पाउनेछन्।

बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै उपभोक्तालाई तत्काल राहत पुर्‍याउने उद्देश्यले यो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ। यो सुविधा हालका लागि काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ।

मन्त्री यादवले यो व्यवस्थालाई तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम तथा सम्पूर्ण ग्यास उद्योगीहरूलाई निर्देशन दिएकी छन्। सङ्कटको यस घडीमा उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा सरकारको निर्देशनको पालना नगर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ।

बुधबार २४ भदौ २०८३ १२:२१ PM मा प्रकाशित

प्रतिक्रिया