काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग (पासपोर्ट डिपार्टमेन्ट) को गेट नम्बर ३ अगाडि एक युवकले आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीको रूपमा भएको छ ।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार घटनालगत्तै उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि तत्काल वीर अस्पताल लगिएको छ । चिकित्सकहरूका अनुसार उनको शरीरको करिब ६५ प्रतिशत भाग जलिसकेको हुनाले अवस्था निकै गम्भीर छ । यद्यपि, उनी सामान्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटना हुनुअघि काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीसँग उनको विवाद वा तनाव सिर्जना भएको देखिएको छ । गणेश नेपालीले राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकल पार्किङ गरेर राखेका थिए । सोही क्रममा फुटपाथ र जथाभाभी पार्किङ नियन्त्रणमा खटिएको महानगर प्रहरीको टोलीले उनको मोटरसाइकलमा 'ह्विल लक' (पाङ्ग्रामा साँचो) लगाइदिएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, "उनले पार्किङ गरी राखेको बाइकमा नगर प्रहरीले ह्विल लक गरेकोसम्म प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।" मोटरसाइकलमा ह्विल लक लागेकै झोकमा वा अन्य कुनै गम्भीर मानसिक तथा व्यवहारिक तनावका कारण उनले यो आत्मघाती कदम चालेका हुन् भन्नेबारे प्रहरीले थप खोजी गरिरहेको छ ।
महानगरको कडा पार्किङ नीतिका कारण सर्वसाधारणले झेल्नुपरेको सास्ती र आक्रोशका बीच यो घटना घटेपछि अहिले सामाजिक सञ्जाल र त्रिपुरेश्वर क्षेत्रमा यसको गम्भीर चर्चा र विरोध भइरहेको छ । घटनाको विस्तृत विवरण र आत्मदाह प्रयासको वास्तविक कारण पत्ता लगाउन जिल्ला प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया