×

मातृका प्रसाद यादवलाई विजयी घोषणा नगरिएकोमा नेकपाको आपत्ति

images

जनकपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम धनुषा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन् । हिजो (आईतबार) निर्वाचन आयोगले धनुषा क्षेत्र नं.१ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन् ।

नेकपाबाट उम्मेदवारी दिएका यादवले हिजो धनुषाको धनुषाधाममा विरोध जनाएका थिए । उनले अबेर राती सोही स्थानमा पत्रकारसम्मेलन गर्दै निर्वाचन आयोगले जारी गरेको निर्देशनको विरोध गरेका छन् । उनले आयोगले आफै गरेको निर्णय तीन पटक परिवर्तत गरेर अन्तमा उम्मेदवारहरुलाई नै अन्योलमा पारेको आरोप लगाएका छन् ।

कालो सूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले पहिला रास्वपाका सोही क्षेत्रबाट उम्मेदवारी दिएका किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनको मतगणना गरी छुट्टै लगत राख्ने भनी दोस्रो पटक निर्णय गरेको थियो । र हिजो फेरि अर्को निर्णय गर्दै मुद्दा विचाराधिन रहेको भन्दै निर्वाचन परिणाम घोषणा नगर्न सुचना जारी गरेको थियो ।

रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भएपनि उनलाई सो क्षेत्रमा अन्य सबै उम्मेदवारहरु भन्दा बढि मत परेको थियो । उनी पछि नेकपाका उम्मेदवार मातृका यादवलाई १० हजार ४२८ मत परेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहलाई ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डललाई ९ हजार २२० मत परेको थियो ।

रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकको जित हुने निश्चित देखिएको थियो । तर हिजो आयोगले जारी गरेको सुचना पछि मातृकासहित सम्पूर्ण उम्मेदवारुको नतिजा अन्योलमा परेको छ । 

निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणनासमेत भई नेकपाका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय भएको उल्लेख छ ।  

कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन भनिएको छ । साथै निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह गरेको छ ।  

उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय विरुद्ध साह सर्वोच्च अदालत गएका छन् । आइतबार आयोगले निर्वाचन अधिकृतलाई अर्को पत्र पठाउँदै उम्मेदवारी खारेजको विषयमा अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले विजेता घोषणा नगर्न भनेको थियो ।

Govinda Acharya

pSonetosrdm08258cg05gii2f16icgmgig7m81890f0340hhfi163cc621h8 ·

नेपाली कम्युनिष्ट पार्टी

प्रेस वक्तव्य

धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार श्री मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार श्री किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो।

निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय हो । कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन।

हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ । साथै न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।

मितिः २०८२ फागुन २५ गते

गोविन्द आचार्य

सचिव, निर्वाचन परिचालन समितिको कार्यालय

नेपाली कम्युनिष्ट पार्टी

सोमबार २५ फागुन २०८२ ११:३८ AM मा प्रकाशित

प्रतिक्रिया