काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न भनेर अग्रसर भइरहेको टिप्पणी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पार्टी प्रवेश कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै प्रचण्डले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्टहरूलाई लगानी गर्ने गरेको बताए ।
‘अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको छ । सोसल मिडियामा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दैछन्,’ उनले भने, ‘विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि अहिले भूराजनीतिक चलखेलबाट हस्तक्षेप गर्ने कोसिस भइरहेको छ ।’
“सोसियल मिडियामा फन्डा गरे पनि उनीहरूसँग कुनै योजना र एजेन्डा छैन। विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिजम प्रस्तुत गर्दै लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गरेको छ। नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना दोहोर्याउने र लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ,” उनले भने, “त्यसको प्रतिवाद गर्न पनि नयाँ संकल्प र नयाँ समीक्षासहित राष्ट्र र जनताको निम्ति तागत चाहिएको छ। त्यही तागतका लागि नेपाली कम्युनिस्ट पार्टी बनाएको हो।”
संयोजक प्रचण्डले रास्वपाप्रति संकेत गर्दै पपुलिस्टहरू लोकतन्त्रविरुद्ध विदेशीले प्रयोग गर्ने पात्रहरू भएको बताए । उनले २६ वटा घटकहरू मिलेर बनेको नेकपा अब देशकै ठूलो पार्टी बन्ने दाबीसमेत गरे ।
प्रतिक्रिया