काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले चुनावपछि आफ्नो दलले सरकार बनाउने दाबी गरेका छन् । आज (सोमबार) काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरुले नै चुनाव जित्ने र सरकार बनाउने दाबी गरेका हुन् । उनले आफूहरुले नै जेनजीको भावना बुझ्ने र उनीहरुको माग पूरा गर्ने बताए । उनले आफूसँग देश बनाउने भीजन रहेको बताए ।
उनले धरानमा विकास कसरी गर्न सकिन्छ भनेर आफूले श्रमदानको मोडेल देखाईसकेको बताए । कार्यक्रममा साम्पाङले स्पष्ट भिजन नभएका नेताहरूले पटक पटक देशको नेतृत्व गरेका कारण मुलुक अघि बढ्न नसकेको भन्दै देशलाई अघि बढाउन स्पष्ट भिजनसहितको नेतृत्व आवश्यक पर्ने बताए ।
देशलाई कस्तो नेतृत्व दिनुपर्छ भन्ने विषयमा गहन बहस गर्नुपर्ने अवस्था देखिएको उनले बताए । साम्पाङले देश बनाउनु भन्दा आफ्नै घर बनाउन केन्द्रित भएका नेताहरूले स्वार्थका कारण असमान सन्धि सम्झौता गरेको आरोप समेत लगाए ।
उनले श्रम संस्कृति पार्टीले देशका युवाहरूलाई देशमा नै परिचालन गरेर विकास गर्ने नीति लिएको धारणा राखे । साम्पाङले श्रम संस्कृति पार्टीले बहुमत प्राप्त गरेर देश चलाउन पाएको अवस्थामा पाँच वर्षभित्र कायापलट गर्न नसके नागरिकता त्यागेर शरणार्थी हुने घोषणा गरे । उनले भ्रष्टाचार गर्ने नियतका साथ कोही पार्टीमा आएको भए तत्काल छाड्न चेतावनी समेत दिए ।
आफ्नो पार्टीले विदेशी ऋणको भरमा बाटो र पुल बनाउने कुरा नगर्ने उल्लेख गदै उनले श्रमदानमार्फत मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने कुरामा प्रतिबद्ध रहेको पनि बताए ।
पुराना राजनीतिक दलहरूले विकास गर्छन् भन्दै पर्खिने स्थिति नरहेको पनि साम्पाङको भनाइ छ । उनले पुराना राजनीतिक दलहरूले मुलुक र जनताको हितमा काम गर्न नसकेको टिप्पणी गर्दै अगामी निर्वाचनमा श्रम संस्कृति पार्टीमा जोडिन सबैलाई आह्वानसमेत गरे ।
प्रतिक्रिया