×

उम्मेदवारहरुलाई निर्वाधरूपमा प्रचारप्रसारको वातावरण निर्माण गर्न निर्वाचन आयोगको निर्देशन

images

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुलाई निर्वादरुपमा प्रचारप्रसार गर्न दिन निर्देशन दिएको छ । आयोगले गृह मन्त्रालयमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनमा सहभागी गराउन तथा प्रचारप्रसारमा आवश्यक सुरक्षाको प्रत्याभूति दिलाउन निर्देशन दिएको हो ।

डडेलधुरालगायत विभिन्न जिल्लाहरूमा उम्मेदवारहरूले निर्वाधरूपले प्रचारप्रसार गर्ने कार्यमा अवरोध भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचार तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका विषयहरूप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले सो निर्देशन दिएको हो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध  स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेलधुरामा आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको बताएका थिए ।  

‘नेपालको संविधानको प्रस्तावनामा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन र कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्यमान्यताप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ,’ आयोगको निर्देशनमा भनिएको छ, ‘नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनको अधीनमा रही आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता र मितव्ययिता कायम गर्दै आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गरिरहेको छ । निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो ।‘

आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौम जनताको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानूनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहने भएकाले सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण्ण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन नहुने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार २२ कात्तिक २०७९ ०९:२० PM मा प्रकाशित

प्रतिक्रिया