काठमाडौँ । चालू आर्थिक वर्षको जेठ महिनामा नेपालले १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरी नयाँ कीर्तिमान कायम गरेको छ। यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्ब रुपैयाँले बढी हो। राष्ट्र बैंकका अनुसार वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
कुल आप्रवाह १५ खर्ब नाघ्यो
चालू आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको ११ महिनाको अवधिमा कुल विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो।
अघिल्लो वर्षको जेठ महिनामा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा यस वर्षको जेठमा यो आँकडा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ, जसले महत्वपूर्ण वृद्धि देखाउँछ।
अमेरिकी डलरमा पनि वृद्धि
अमेरिकी डलरमा हेर्दा, चालू आर्थिक वर्षको ११ महिना अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड डलर पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।
चालू आर्थिक वर्षको ११ महिनामा कुल खुद द्वितीय आय १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँको तुलनामा बढी हो ।
वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि
जेठ महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ पुगेको छ । यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यी संख्या क्रमशः ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २१० थिए, जसले वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको देखाउँछ ।
प्रतिक्रिया