×

संसद्मा प्रधानमन्त्रीले जवाफ दिनुहुन्न : कवीन्द्र बुर्लाकोटी

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद्मा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने स्पष्ट पारेका छन् । सोमवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन् ।

नेपाल–भारत सीमा सम्बन्धी पछिल्लो विवाद परराष्ट्र मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत पर्ने भएकाले यस विषयमा प्रधानमन्त्रीले नै संसदमा उभिएर जवाफ दिइरहनु नपर्ने उनले प्रस्ट पारे ।

"संसद्को अवरोध अन्त्य गर्नका लागि सभापतिले विपक्षी दलका नेताहरूलाई आग्रह गर्नुभयो । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले विषयवस्तु स्पष्ट पारिसकेको छ र आवश्यक परेको खण्डमा सदनमा पनि राख्न सकिन्छ," बुर्लाकोटीले भने ।

महामन्त्री बुर्लाकोटीले प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालयहरू रहने र सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने अभ्यास रहेको उल्लेख गरे । सम्बन्धित मन्त्रीले बोलेको कुरा नै प्रधानमन्त्री, सरकार र सरकारको नेतृत्व गर्ने दलको आधिकारिक जवाफ हुने उनको तर्क थियो ।

संसद्को गतिरोध हटाउने विषयमा सकारात्मक छलफल भइरहेको र कुराकानी धेरै अगाडि बढेको समेत उनले दाबी गरे । विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रालयमार्फत आउने भएकाले संसद् सुचारु गर्न उनले आग्रह गरे ।

सोमबार २५ जेठ २०८३ ०२:०९ PM मा प्रकाशित

प्रतिक्रिया