काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा फसेका तथा सम्पर्कविहीन भएका नागरिकहरूको खोज, उद्धार र राहतका लागि सरकारले कुनै कसर बाँकी नराखेको स्पष्ट पारेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रका नाममा एक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले संकटको यस घडीमा राज्य आफ्नो कर्तव्यबाट विमुख नहुने प्रतिबद्धता व्यक्त गरेका हुन्।
"हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता राम्रोसँग थाहा छ," प्रधानमन्त्री शाहले भनेका छन्। उनले नेपालीको मानवतावादी स्वभावलाई व्यवहारमा उतार्दै सीमित स्रोत-साधन, चुनौतीपूर्ण भूगोल र समयको प्रतिकूलताका बाबजुद पनि प्रत्येक सम्पर्कविहीन नागरिकको खोजी कार्यलाई अन्तिम क्षणसम्म जारी राख्ने दृढता दोहोर्याएका छन्।
गत भदौ १० गते लाङटाङ हिमालको करिब ५ हजार ६ सय मिटर उचाइबाट खसेको अभूतपूर्व हिमपहिरोका कारण भोटेकोशी र त्रिशूली नदीमा लेदोसहितको लेदो बाढी आएको थियो। यस प्राकृतिक विपत्तिले रसुवा र नुवाकोटमा सञ्चालित तथा निर्माणाधीन थुप्रै जलविद्युत् आयोजनाहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। जलमग्न सुरुङ र गेग्रानले पुरिएका आवासीय भवनहरूमा फसेकाहरूको अवस्था पत्ता लगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ टोलीहरू अहोरात्र खटिरहेका छन्।
पाँच प्रमुख जलविद्युत् आयोजनामा उद्धारको पछिल्लो अवस्था
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रका पाँचवटा मुख्य आयोजनाहरूमा भइरहेको उद्धार कार्यको प्राविधिक विवरण समेत सार्वजनिक गरेका छन्:
रसुवागढी जलविद्युत् आयोजना:
आयोजनाको हेडवर्क्सका सम्पूर्ण संरचना तथा भूमिगत पावर हाउसमा ठूलो क्षति पुगेको छ। सुरुमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सामग्री पुर्याउन कठिन भए पनि हाल सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगेको छ। अहिले हेलिकोप्टरमार्फत मिनी एक्साभेटर पुर्याएर खोजीलाई तीव्र पारिएको छ।
चिलिमे जलविद्युत् आयोजना:
भदौ १० गते नै नेपाली सेनाको टोली पुगे पनि सुरुङको मुखमा थुप्रिएको अत्यधिक दलदलका कारण प्रवेशमा समस्या भएको थियो। भदौ १३ गते भारतीय विशेषज्ञसहित रेकी गरी भोलिपल्टदेखि खोजी सुरु गरिएको हो। बबक्याट एक्साभेटरको प्रयोग गरी दलदल पन्छाउँदै ९० मिटरभित्र पुग्दा दुई वटा शव फेला परेको र खोजी अझै जारी रहेको छ।
माथिल्लो त्रिशूली-१ आयोजना:
यस आयोजना क्षेत्रमा भदौ १३ गते चिनियाँ विशेषज्ञ टोलीले रेकी गरेको थियो। भदौ १४ गतेदेखि नेपाली सेना र चिनियाँ टोलीले संयुक्त रूपमा अत्याधुनिक थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरामार्फत सुरुङभित्र खोजी गरिरहेका छन्।
त्रिशूली-३ 'ए' आयोजना:
नुवाकोटस्थित यस आयोजनामा बाढीको लेदोले सुरुङको मुखै पुरेका कारण प्रवेशद्वार पहिचान गर्न लामो समय लागेको थियो। ठूला चट्टानहरू बाटोमा तेर्सिएपछि सेना र आयोजनाका कर्मचारीले ग्यास वेल्डिङबाट सुरुङमा प्वाल बनाएर भित्र प्रवेश गरेका थिए। सोही प्रयासका कारण भदौ १९ गते दुई जना प्राविधिकलाई जीवितै उद्धार गर्न सफलता मिलेको छ भने एक जनाको शव निकालिएको छ।
त्रिशूली-३ 'बी' आयोजना:
यहाँ बाढीले आयोजनाका ६ वटा आवासीय र एउटा कार्यालय भवनलाई १५ मिटर गहिराइसम्म पुरेको छ। ती संरचना उत्खनन गर्ने कार्य चलिरहेको छ। चिनियाँ टोली र नेपाली सेनाले अडिट सुरुङको प्रवेशविन्दुबाट दलदल हटाउँदै १.७ किलोमिटरभित्र पुगेर खोजी गरिरहेका छन्, जहाँ बाढीले बगाएको एउटा गाडी समेत फेला परेको छ।
चौतर्फी चुनौती र अन्तर्राष्ट्रिय सहकार्य
प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, पहिरोको निरन्तर जोखिम र सुरुङभित्र भरिएको दलदलका कारण खोज कार्य अत्यन्तै जोखिमपूर्ण र जटिल बनेको उल्लेख गरे। यस्तो कठिन परिस्थितिमा पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मीहरू ज्यान हत्केलामा राखेर खटिएका छन्।
यो केवल नेपालको मात्र नभई प्राविधिक रूपमा पनि विशिष्ट प्रकृतिको संकट भएकाले मित्रराष्ट्रहरू भारत, चीन र दक्षिण कोरियाका सुरुङ तथा विपद् व्यवस्थापन विशेषज्ञ टोलीहरूलाई अत्याधुनिक उपकरणसहित कार्यक्षेत्रमा परिचालन गरिएको प्रधानमन्त्रीले बताए।
जनताको धैर्यता र सरकारको संकल्प
आफ्ना नागरिकहरू संकटमा पर्दा राज्य मूकदर्शक बन्न नसक्ने भन्दै प्रधानमन्त्रीले पीडित परिवारहरूलाई धैर्य रहन अपिल गरेका छन्। सरकारले उद्धार कार्यसँगै विस्थापित भएका परिवारका लागि छुट्टाछुट्टै आश्रयस्थल, खाद्यान्न र स्वास्थ्य उपचारको प्रबन्ध मिलाएको र सडक सञ्जाल टुटेका ठाउँमा वैकल्पिक मार्गहरू द्रुत गतिमा सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्। राज्यको सम्पूर्ण शक्ति बेपत्ताहरूको प्राण रक्षा र खोजीमै केन्द्रित रहेको स्पष्ट पार्दै उनले यो लडाइँ अन्तिम परिणाम नआएसम्म जारी रहने प्रतिबद्धता व्यक्त गरे।
प्रतिक्रिया