काठमाडौं, २३ असार । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेका सुकुमवासीहरू सोमबार साँझदेखि खाना नपाएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका छन् । सरकारले वैकल्पिक व्यवस्था र राहतबिना नै खाना रोकेको र कार्यतालिका अगावै निकाल्न खोजेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
सोमबार बिहानसम्म नियमित खाना पाइरहेका सुकुमवासीहरूलाई साँझदेखि खानाको व्यवस्था नगरिएको बुझिएको छ । होल्डिङ सेन्टरमा आश्रित एक सुकुमवासीका अनुसार, खाना नदिएपछि उनीहरू रातभर भोकै बस्न बाध्य भएका थिए । उपाय नलागेपछि उनीहरूले आज (मंगलबार) बिहानैदेखि केन्द्र परिसरमा नाराबाजी र विरोध सुरु गरेका हुन् ।
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले हिजो बिहानसम्म खाना खाएर आफूहरू काम विशेषले निस्किएको तर साँझदेखि एकाएक खाना रोकिएको जानकारी दिए ।
आन्दोलनमा उत्रिएका अर्का सुकुमवासीले आक्रोश पोख्दै भने:
"सरकार आफैंले होल्डिङ सेन्टरमा बस्न दिएको अवधिसम्म पनि हामीलाई भोकै राख्यो । हामी त जसोतसो सहौंला, तर यहाँ भएका बिरामी, पाका उमेरका वृद्धवृद्धा र साना बालबालिकाहरूको बिजोग भएको छ । कतिपयले खाना खाएर खानुपर्ने औषधि समेत खान पाएका छैनन् ।"
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आगामी असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । तर, तोकिएको म्याद (असार २४ गते) नसकिँदै २४ घण्टा अगावै खाना बन्द गरेर सरकारले आफूहरूलाई जबरजस्ती निकाल्न खोजेको आरोप सुकुमवासीहरूको छ ।
गत वैशाख महिनामा काठमाडौंको बाग्मती र मनोहरा नदी किनारका अनधिकृत बस्तीहरू खाली गराउने क्रममा सरकारले यी परिवारहरूलाई उद्धार गरी विभिन्न होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरेको थियो । हाल खरिपाटीस्थित केन्द्रमा मात्रै ९९ परिवारका २०७ जना आश्रित छन् ।
यसअघि सरकारले प्रतिपरिवार २५ हजार रुपैयाँ राहत दिएर ५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेको थियो । तर, सुकुमवासीहरूले उक्त न्यून रकमले काठमाडौं उपत्यकामा कोठा भाडामा लिन र गुजारा गर्न असम्भव रहेको भन्दै राहतका लागि निवेदन दिन अस्वीकार गरेका छन् । उनीहरूले आफूहरूलाई अल्मल्याउने राहत भन्दा पनि दीर्घकालीन र सम्मानजनक पुनर्स्थापना हुनुपर्ने अडान राख्दै आएका छन् ।
सुकुमवासीहरूले सामूहिक रूपमा विरोध र नाराबाजी गर्न थालेपछि खरिपाटीस्थित तालिम केन्द्र वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित झडप वा अप्रिय घटना हुन नदिन अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
प्रतिक्रिया