×

प्रधानमन्त्री बालेनको सचिव कृष्णहरि पुष्करप्रति कटाक्ष -राजदूत बन्न मन छ, पीएमको नम्बर छ भने दिनुस् न !

images

काठमाडौँ ।  प्रधानमन्त्री बालेन शाहले आफूलाई पनि राजदूत बन्ने इच्छा जागेको भन्दै सामाजिक सञ्जालमार्फत राजनीतिक नेतृत्वमाथि कडा व्यङ्ग्य प्रहार गरेका छन् । पछिल्लो समय सरकारले विभिन्न देशका लागि राजदूतहरू सिफारिस गर्ने तयारी गरिरहेका बेला शाहको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। आइतबार राति फेसबुकमा एक संक्षिप्त तर प्रहारात्मक स्टाटस लेख्दै बालेनले भनेका छन्:

"मलाई पनि राजदूत बन्न मन छ । प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न ।"

पछिल्लो समय नेपालको कूटनीतिक क्षेत्र र राजदूत नियुक्ति प्रक्रिया योग्यताभन्दा पनि राजनीतिक भागबन्डा, पहुँच र ‘सोर्स-फोर्स’ का आधारमा हुने गरेको भन्दै आम नागरिक र बौद्धिक वर्गले आलोचना गर्दै आएका छन्। बालेनले सोही बेथितिलाई लक्षित गर्दै सिधै "प्रधानमन्त्री (पीएम) को नम्बर" मागेर राजदूत पद पाउन शक्ति केन्द्रसँगको पहुँच कति अनिवार्य छ भन्ने कुरालाई व्यङ्ग्यको माध्यमबाट उजागर गरेका हुन्।

सरकारका प्रवक्ताको जवाफ: ‘म्यासेज गर्दिम् ?’
बालेनको यो व्यङ्ग्यात्मक स्टाटस सामाजिक सञ्जालमा भाइरल भएसँगै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले यसमा तत्कालै प्रतिक्रिया जनाएका छन् ।

बालेनको पोस्टको कमेन्ट सेक्सनमा ओर्लिँदै मन्त्री पोखरेलले लेखेका छन्:

"म्यासेज गर्दिम् ?"

बालेनको यो पोस्टमा केही घण्टामै हजारौँ लाइक, सेयर र कमेन्ट आइसकेका छन्। अधिकांश प्रयोगकर्ताहरूले बालेनको शैलीको समर्थन गर्दै देशमा नियुक्तिहरू पारदर्शी नभएको कुरामा सहमति जनाएका छन् भने कतिपयले मन्त्री र प्रधानमन्त्रीबीचको यो डिजिटल दोहोरीलाई रोचक टिप्पणीका रूपमा लिएका छन्।

आफ्ना कडा र सिधा अभिव्यक्तिका कारण सधैँ चर्चामा रहने बालेनको यो पछिल्लो 'राजदूत' स्टाटसले कूटनीतिक क्षेत्रको बेथितिमाथि एउटा नयाँ बहस भने पक्कै छेडिदिएको छ।  गत बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आफू असार २४ गते अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई एसएमएस गरेका थिए ।

त्यसमा उनले प्रधानमन्त्री शाहलाई ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ उल्लेख गरेका थिए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई प्रहरी लगाएर पक्राउ गराएको थियो ।  त्यही कारण सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा तानिएको छ ।

आइतबार​ २४ जेठ २०८३ ११:०५ AM मा प्रकाशित

प्रतिक्रिया