×

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै दाहाल र आङ्देम्बेको नोट अफ डिसेन्ट, को हुन् डा. मनोजकुमार शर्मा ?

images

काठमाडौं । संवैधानिक परिषद्‌ बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले लिखित असहमति राखेका छन् ।

प्रधानमन्त्री बालेन शाहले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको परम्परा र वरिष्ठताक्रम मिचिएको भन्दै असहमति जनाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले क्षमता र योग्यताका हिसाबले शर्मालाई नियुक्त गर्नुपर्ने भन्दै बैठकमा प्रस्ताव गरेका थिए । उनीहरुले भने सिफारिसमा रोलक्रम मिचिएको भन्दै असहमति जनाएको स्रोतले बतायो ।

प्रधानमन्त्रीले न्याय सम्पादन मात्र भनेर भएन न्याय सम्पादन र विज्ञका हिसाबले शर्मालाई प्रस्ताव गरिएको भन्दै दलिल पेश गरेका थिए ।

शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा ६ वर्षे पूरा कार्यकाल पूरा गर्नेछन् । शर्मा संसदीय सुनुवाइ समितिबाट पनि अनुमोदन भएमा २०८९ वैशाखसम्म उनले सर्वोच्चको नेतृत्व सम्हाल्नेछन् । 

२०७६ वैशाख ६ मा सर्वोच्च अदालत प्रवेश गरेका शर्माको जन्म २०२७ असार ४ गते पर्साको वीगञ्जमा भएको हो । शर्माले नेपाल ल क्याम्पस, काठमाडौँबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएम गरेका छन् । उनले नेपालको त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका छन् । 

कानुन व्यवसायी पृष्ठभूमिका शर्मा विभिन्न कम्पनी र संस्थाहरूको कानुनी सल्लाहकार भएर निर्वाह गरेका थिए । २०७० जेठ २७ देखि २०७२ मंसिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएका थिए । आफ्नो करियरको क्रममा, उनले नेपाल र विदेशमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिएका थिए ।

बिहीबार २४ बैशाख २०८३ ०९:१९ PM मा प्रकाशित

प्रतिक्रिया