काठमाडौँ — मन्त्रीहरूको मर्यादाक्रम(वरीयता) हेरफेर गरिएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा यही चैत १३ गते गठित मन्त्रिपरिषद्मा मर्यादाक्रममा हेरफेर गरिएको हो । मन्त्रीहरुको कार्यविभाजन यथावत रहे पनि मर्यादाक्रममा हेरफेर गरिएको जनाइएको छ । हेरफेर भएको मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले रहेका छन्।
त्यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको मर्यादाक्रम रहेको छ । सुरुको मर्यादाक्रममा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा थिए। चौथो वरीयतामा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई ल्याइएको छ । यसअघि उनी छैटौँ वरीयतामा थिए । यस पटक सबैभन्दा छलाङ महिला, बालबालिका मन्त्री सीता वादीले मारेकी छन् । उनी अन्तिम अर्थात् पन्ध्रौँ वरीयताबाट आठौंमा उक्लिएकी छन् ।
तेह्रौँ वरीयतामा रहेकी कानुनमन्त्री सोविता गौतमलाई सातौँ वरीयतामा ल्याइएको छ। हाल १५ सदस्यीय मन्त्रिपरिषद्मा १५ औँ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह रहेका छन्।

प्रतिक्रिया