×

सबैको ‘टार्गेटमा’ उपेन्द्र यादव किन ?

images

काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव । यादव बारा २ मा हुने उपनिर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनको साझा उम्मेदवारसमेत हुन् ।

अहिले भइरहेको चुनावी सभा, बैठक, कार्यक्रममा पुग्ने अधिकांश नेताले जसपा अध्यक्ष यादवको चर्को रूपमा विरोध गरिरहेका छन् । यादवको विरोध गर्दै उनीहरूले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरिरहेका छन् । आफ्ना उम्मेदवार विजयी भए बारासहित मधेसको विकास, समृद्धिका लागि काम गर्ने उनीहरूको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका थिए । महागढीमाई नगरपालिकाको वरियारपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यादवको चर्को विरोध गरे । उपनिर्वाचनमा यादव विजयी भए केही नगर्ने बताउँदै ओलीले मधेसको विकासका लागि एमाले उम्मेदवार पुरुषोत्तम पौडेललाई मतदान दिन आग्रह गरे ।

त्यस्तै, कलैयाको सिद्धेश्वर माविस्थित क्रिकेट खेलमैदानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा सिके राउतले यादवलाई ‘फिरंगी’को संज्ञा दिए । सप्तरी–२ मा ४ मंसिरमा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत दोब्बर मतले प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

आमजनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले यादवलाई ‘बहुरुपीया’ रहेको संज्ञा दिएका छन् । मधेसी जनतालाई ठग्दै आएका मधेस विरोधी बारामा चुनाव लड्न आएको भन्दै साहले यादवलाई पराजित गर्न आआफना ठाउँबाट लाग्नुपर्ने बताए ।

एमाले अध्यक्ष ओली, जनमत अध्यक्ष राउत, आजपा अध्यक्ष साहसहितका नेताले यादवका विरोधमा उत्रे पनि यादवले कुनै प्रतिक्रिया जनाएका छैनन् । उनी मौन रहेरै मतदातासँग भेटघाट गरिरहेका छन् ।

बिहीबार कलैया पुगेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई यादवको आवश्यकता रहेको दाबी गरे । विभिन्न पार्टीका शीर्ष नेताले यादवको चर्को विरोध गरिरहेकै बेला पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताएका हुन् ।

१० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित ‘हरुवा’ नेताहरूकै बीचमा प्रतिस्पर्धा हुने देखिन्छ । राजधानी दैनिकबाट

शुक्रबार​ २४ चैत २०७९ ०७:४६ AM मा प्रकाशित

प्रतिक्रिया