नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी दिनमा सिंहदरबार नजल्ने र सरकारले नागरिकमाथि गोली नचलाउने ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ का घटनाको सन्दर्भ उल्लेख गर्दै आगामी निर्वाचनपछि देशलाई सुरक्षित र स्थिर बनाउने जिम्मेवारी कांग्रेसले लिने बताए।
देशभित्रको अविश्वासलाई विश्वासमा बदल्ने, सबै वर्ग र समुदायसँग संवाद गर्ने तथा देशभित्र र बाहिर रहेका नागरिकसँग सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। नेपाली काँग्रेसले यो बेलामा सबैसँग संवाद गर्छ, ‘हामी तन्नेरीसँग संवाद गर्छौँ । बुढापाकासँग संवाद गर्छौं । मधेश, पहाड सबैसँग संवाद गर्छौं । देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि संवाद गर्छौं । र सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय शुरु गर्न चाहन्छौँ थापाले बताए ।’
थापाले मधेस र काठमाडौँलाई जोड्न आफूले सर्लाहीबाट उम्मदेवारी दिएको बताए। उनले भने,‘मेरो परिवार पहाडबाट काठमाडौँ आउनुभयो, मैले आमाबाट पहाड बुझेँ। म काठमाडौँमा हुर्किएकाले सहर बुझेँ। अहिले पार्टी सभापति भएसँगै कांग्रेसलाई हुर्काउने र बढाउने मधेशलाई नबुझी राष्ट्रिय नेतृत्व गर्न सकिँदैन भन्ने लागेर मधेश आएको हुँ। म जस्तै काठमाडौँले मधेशलाई सहतही रूपमा चिनेको छ, म आगामी पाँच वर्षमा काठमाडौँलाई मधेशको महत्व बुझाउनेछु।’
उनले आगामी पाँच वर्षमा मधेशको समग्र विकासमा योजनाबद्ध काम गरेर आमनागरिकको दैनिकीमा परिवर्तन ल्याउने प्रतिबद्धता जनाए।
‘सर्लाही–४ मा मेरो शिक्षा, स्वास्थ्य, प्रविधि, कृषिलगायतको टोलीले अध्ययन गरेर त्यहाँ गर्नुपर्ने कार्यका बारेमा सुझाव दिनुभएको छ, आगामी पाँच वर्षमा त्यहाँ आवश्यकताका आधारमा काम गर्नेछु। जसरी अहिले मलाई काठमाडौँ–४ का बासिन्दाले चनुाव यहीँ चुनाव लड्नस् भनेर आग्रह गर्नुभएको थियो, आगामी पाँच वर्षमा सर्लाही–४ का बासिन्दाले पनि त्यस्तै आग्रह गर्ने गरी काम गर्नेछु,’ सभापति थापाले भने।
उनले आफ्नो ज्ञान र सम्पर्कसुत्र प्रयोग गरेर शिक्षा, स्वास्थ्य र उद्यमशीलताका विषयमा काम गर्ने भएकाले विस्तारै समस्या कम हुँदै जाने विश्वास व्यक्त गरे।
सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनपछि कांग्रेस सच्चिएर अघि बढेको र अब देश बदल्न अभियानमा रहको बताएका हुन्। उनले अहिलेको अवस्थामा सवैभन्दा नयाँ पार्टी माघ १ गते अधिवेशन गरेपछि कांग्रेस भएको उल्लेख गरे।
सभापति थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पु¥याउनुपर्ने र हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ गएर वास्तविकता बुझाउन सक्नुपर्ने बताए। सभापति थापाले अधिवेशनपछि अब पार्टीमा कुनै पक्ष र विपक्ष नरहेको भन्दै एक भएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए।
देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे।
प्रतिक्रिया