×

प्रदेशमन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि हरिसिद्धीमा तनाव, सडक अवरुद्ध

images

ललितपुर । ललितपुरको हरिसिद्धीमा प्रदेशमन्त्री सवार रहेको गाडीले ठक्कर दिँदा एक बालिका घाइते भएको घटनापछि सडक अवरुद्ध भएको छ । मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेर विरोध गरिरहेका छन् ।

प्रहरीका अनुसार घाइते बालिकाको बि एण्ड बि अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ ।

ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशनतर्फ गइरहेको कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले हरिसिद्धी मावि अगाडि बालिकालाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि आक्रोशित स्थानीयले सातदोबाटो–गोदावरी सडक अवरुद्ध गरेका छन् । स्थानीयले ट्राफिक प्रहरीले मन्त्री सवार गाडीलाई नरोकी सहजै जान दिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरुले कानुन सबैलाई बराबर हुनुपर्ने भन्दै सडक अवरुद्ध गरेका छन् ।  

ललितपुर प्रहरीले सडक खुलाउन स्थानीयसँग छलफल भइरहेको जानेको छ ।

शनिबार २१ भदौ २०८२ ०९:४८ PM मा प्रकाशित

प्रतिक्रिया