×

पाँच महिनापछि साउन २६ मा स्वदेश फर्किँदै देउवा: विमानस्थल ओर्लनासाथ सुरु हुनेछ राजनीतिक पराकम्प

images

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी साउन २६ गते (११ अगस्ट) स्वदेश फर्किने भएका छन् । उपचारका क्रममा विगत पाँच महिनाभन्दा बढी समयदेखि विदेशमा रहेका देउवा साउन २६ गते राति ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने तालिका तय भएको छ ।

देउवानिकट नेता तथा कांग्रेसका नेता डा. प्रकाशशरण महतले उनको स्वदेश फिर्तीको मिति र समय पुष्टि गरेका हुन् । यद्यपि, उनका स्वकीय सचिव भानु देउवाका अनुसार स्वास्थ्य स्थिति र तयारी हेरेर उनी साउन २६ वा २८ गतेभित्र काठमाडौँ आइपुग्नेछन् ।

देउवा गत १३ फागुन २०८२ मा स्वास्थ्य परीक्षण र उपचारका लागि नेपालबाट सिंगापुर प्रस्थान गरेका थिए। सिंगापुरमा उपचार सकिएपछि उनी ७ चैतमा थप उपचारका लागि हङकङ पुगेका थिए ।

उनी विदेशमै रहेका बेला नेपालमा बालश्रम (बालेन) शाह नेतृत्वको सरकारले उनी र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो । सरकारले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्दै इन्टरपोलमार्फत 'रेड नोटिस' जारी गर्न खोजे पनि इन्टरपोलले त्यसलाई अस्वीकार गरिदिएको थियो । पछि सर्वोच्च अदालतले विशेष अदालतको क्षेत्राधिकार भन्दै पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो । देउवा दम्पतीले असार महिनामा हङकङबाटै चिठ्ठी पठाउँदै आफूहरू भागेको नभई उपचारमा रहेको र साउनभित्रै स्वदेश फर्किएर अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


देउवाको आगमनले कांग्रेस र सत्ता राजनीतिमा हलचल

पार्टीभित्र र राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण भइरहेका बेला हुन लागेको देउवाको फिर्तीलाई अर्थपूर्ण रूपमा हेरिएको छ  ।

देउवा पक्षको राष्ट्रिय भेला: देउवा काठमाडौँ ओर्लिएको दुई दिनपछि अर्थात् साउन २९ देखि ३१ गतेसम्म देउवा पक्षका नेताहरूले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा 'राष्ट्रिय भेला' आयोजना गरेका छन् । उक्त भेलालाई सम्बोधन गर्न र आफ्नो पक्षलाई रणनीतिक मार्गदर्शन दिन देउवाको उपस्थिति महत्त्वपूर्ण मानिएको छ । '

कांग्रेसको वैधानिकता विवाद: कांग्रेस विभाजन उन्मुख चर्चा चलिरहँदा गगन थापाको सभापति पदको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको पुनरावलोकन निवेदन स्वीकृत भएको छ । अब यो विवादबारे ३ सदस्यीय पूर्ण इजलासमा फेरि सुरुदेखि सुनुवाइ हुँदैछ ।

लामो समयपछि स्वदेश फर्किन लागेका देउवाले प्रस्थान गर्नुअघि एक सार्वजनिक सन्देश जारी गर्दै राजनीतिक दलहरूलाई प्रतिशोध र विभाजनको राजनीति त्यागेर राष्ट्रिय एकता, संवाद र सहकार्यलाई प्राथमिकता दिन आग्रह गरिसकेका छन् ।

बिहीबार २१ साउन २०८३ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया