×

सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

images


थलारा (बझाङ), २४ जेठ : चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो ।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई  बताउनुभयो । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी हुनुहुन्थ्यो ।
बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ । नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उहाँले  जानकारी दिनुभयो । 

नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्नसहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले  संयुक्त रूपमा नाका पुनःसञ्चालनको घोषणा गर्नुभएको थियो । 
–––

बिहीबार २३ जेठ २०८१ ०१:१३ PM मा प्रकाशित

प्रतिक्रिया