×

चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी काठमाडौं आइपुगे प्रधानमन्त्री ओली

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  प्रधानमन्त्री ओलीलाई चीनका उपविदेशमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ गएका थिए ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । भेटका अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री, ली छ्याङ, चिनियाँ राष्ट्रिय जनकाँग्रेस (संसद्का) अध्यक्ष लगायतसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणको तेस्रो दिन दुई देशबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । 

बिहीबार २० मंसिर २०८१ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया