×

मोटरसाइकलको ट्याङ्कीमुनि लुकाएर ल्याएको ३० लाखसहित भारतीय नागरिक पक्राउ, व्यापारीको पसलबाट थप १४ लाख बरामद

images

रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा रकम ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा सो अवैध रकमसहित एक भारतीय र एक नेपाली व्यापारी पक्राउ परेका हुन्।

मोटरसाइकलको 'फल्स बटम' मा ३० लाख

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो ईशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक प्रहरी चौकी मठियाबाट खटिएको टोलीले विशेष चेकिङ सुरु गरेको थियो। भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले ३० लाख रुपैयाँ बरामद गर्‍यो।

तस्करहरूले मोटरसाइकलको झोला र इन्धन ट्याङ्कीमुनि विशेष प्रकारको 'फल्स बटम' (गुप्त कोठा) बनाएर उक्त रकम र एउटा स्मार्टफोन लुकाएका थिए। रकमसहित पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, फुलबरिया–१३ निवासी ३० वर्षीय सनि कुमार जैसवाल रहेका छन्।

बयानका आधारमा ट्रेडर्समा छापा, थप १४ लाख बरामद

पक्राउ परेका भारतीय नागरिक जैसवालसँग प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित 'न्यु तराई ट्रेडर्स'का सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको खुल्यो।

लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको कमाण्डमा खटिएको विशेष टोलीले गौरस्थित उक्त ट्रेडर्समा आकस्मिक खानतलासी (छापा) मारेको थियो। पसलमा खानतलासी गर्दा प्रहरीले स्रोत नखुलेको थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गर्‍यो। प्रहरीले रकमसहित पसलका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई समेत नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दुवै जनालाई हिरासतमा राखी बरामद कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँको स्रोत र यो अवैध वित्तीय कारोबारको अन्तर्यबारे थप कानुनी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

बुधबार १९ कात्तिक २०८३ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया