×

'सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ, जनमतको अपमान भयो': कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा

images

काठमाडौँ, १८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले वर्तमान सरकारको कार्यशैली र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन्। बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले देशका मतदाताले ठुलो आशा, भरोसा र विश्वासका साथ दिएको मतको वर्तमान सरकारले अवमूल्यन गरिरहेको आरोप लगाए। 

"यो देशका मतदाताले त्यत्रो ठुलो आशा र विश्वास गरेर दिएको मतलाई सही ढंगले अहिलेको सरकारले प्रयोग गरिरहेको छैन," नेता शर्माले पत्रकार सम्मेलनमा भने।

'कांग्रेस सत्ताको खेलमा छैन, सरकारले पूरा ५ वर्ष काम गरोस्'

वरिष्ठ उपसभापति शर्माले नेपाली कांग्रेस तत्काल सरकार परिवर्तन गर्ने वा सत्ताको छिर्केउली थाप्ने खेलमा नरहेको स्पष्ट पारे। कांग्रेसले मतदाताको मतको उच्च सम्मान गर्ने भन्दै वर्तमान सरकारले कुनै पनि अवरोध बिना पूरा ५ वर्ष निर्वाध ढंगले काम गर्न पाउनुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी दृढ रहेको बताए। 

"हामी मतदाताले दिएको प्रत्येक मतलाई सम्मान गर्छौं र यो सरकारले पूरा ५ वर्ष निर्वाध ढंगले काम गर्न पाउनुपर्छ भन्ने पक्षमा छौँ," शर्माले थपे, "हामीले पूरै ५ वर्ष सत्तातिर नजर लगाउनुहुन्न भन्ने कुरामा स्पष्ट छौँ। तर, प्रश्न उठ्छ– सरकारको प्राथमिकता कहाँ छ?" उनले राजनीतिक अस्थिरता अन्त्यका लागि सरकारलाई पाँच वर्ष चल्न दिने वातावरण बनाउन कांग्रेस तयार भए पनि सरकारले भने आफ्ना न्यूनतम जिम्मेवारीहरू समेत भुल्दै गएको टिप्पणी गरे। 

आईजीपी हेरफेर प्रकरणमा 'सिंहदरबार र बालुवाटारको रमिता'

पत्रकार सम्मेलनका क्रममा नेता शर्माले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सरकारको पछिल्लो निर्णय र त्यसमा सत्तारूढ दलभित्रै देखिएको विरोधाभासपूर्ण अभिव्यक्तिप्रति कडा आपत्ति जनाए। उनले सरकारका प्रवक्ता र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताको बाझिएको भनाइलाई लिएर सरकारको चर्को आलोचना गरे।

"सरकारको प्रवक्ता के भन्नुहुन्छ– पार्टीको निर्देशनमा हटाइयो। एक घण्टा नभईकन पार्टीको प्रवक्ता के भन्नुहुन्छ– हाम्रो निर्देशन गएको छैन," सरकार र सत्तारूढ दलबीचको समन्वयहीनताप्रति व्यङ्ग्य गर्दै शर्माले भने, "लेख्नुस्, सिंहदरबारमा रमिता चलिरहेको छ। लेख्नुस्, बालुवाटारमा रमिता चलिरहेको छ।" 

वास्तविक समस्याबाट सरकार बाहिरिएको आरोप

वरिष्ठ उपसभापति शर्माले देश बाढीपहिरो जस्तो ठुलो प्राकृतिक विपत्तिबाट गुज्रिरहेको, भोटेकोसी बाढी पीडितले अझै राहत नपाएको र अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तन सम्बन्धी कोप सम्मेलन (COP31) को तयारी गर्नुपर्ने बेलामा सरकार भने प्रतिपक्षमाथि राजनीतिक प्रतिशोध लिन र राज्य संयन्त्रको दुरुपयोग गर्न व्यस्त रहेको आरोप लगाए। उनले प्रहरी हिरासतमा रहेका व्यक्तिको बयान वा अडियो नियोजित रूपमा बाहिर ल्याएर (लीक गरेर) मिडिया र प्रतिपक्षलाई तर्साउने हर्कत बन्द गर्न सरकारलाई चेतावनी समेत दिए। 

कांग्रेसले प्रतिपक्षीय भूमिकालाई सशक्त र रचनात्मक बनाउँदै सरकारका गलत कदमहरू विरुद्ध निरन्तर आवाज उठाइरहने शर्माले स्पष्ट पारे। 

 

बुधबार १९ कात्तिक २०८३ ०७:५१ PM मा प्रकाशित

प्रतिक्रिया