×

आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा गठबन्धन नगरी चुनाव लड्छौँ : प्रचण्ड

images

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको भेटघाट तथा अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गरेका हुन्। 

देशव्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुआत आउँदो मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए । प्राकृतिक प्रकोपका कारण सिर्जित संकट समाधानका निम्ति आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको उनको भनाइ थियो ।

जनताको सेवा गर्न सरकारमा रहने वा नरहने विषयले अर्थ नराख्ने पनि उनले उल्लेख गरे । उनले अहिले सरकार कहाँ छ भनेर जनताले नभेट्टाइरहेका बेला बाढीपहिरोका कारण सिर्जित संकट समाधानका निम्ति आफ्नो पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको जिकिर गरे ।

वर्तमान सरकारले देश र जनताका पक्षमा नभई भ्रष्टाचारीको हितमा काम गर्ने उनले आरोप लगाए । उनले सरकारका गलत कामको विरोध र प्रतिवाद सडक र सदनबाट गर्ने स्पष्ट पारे । अध्यक्ष प्रचण्डले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र जनताका बीचमा पनि त्यो यथार्थ जानकारी गराउने बताए ।

पार्टीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै उनले माओवादी केन्द्रको नेतृत्व र विचारलाई फेरि एकपटक साथ दिन जनता तयार हुँदै गएको टिप्पणी गरे ।  उनले ‘कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दालड्दा कता कता माओवादीको पहिचान हराउन लागेको हो कि आशंका सर्वत्र भएको छ । र, यो पटक हामी आफ्नै खुट्टामा उभिएर अहिले मात्रै होइन, २०८४ सालको निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिटमा नै ३३० प्रदेशमा र सबै पालिकामा पनि हामी एक्लै चुनाव लडेर फेरी एकचोटी माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौं’, उनले भने ।

उनले यही सन्देश दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

शनिबार १९ असोज २०८१ ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया