काठमाडौँ । बलिउड, कलिउड तथा दक्षिण भारतीय चलचित्र उद्योगका प्रख्यात चरित्र अभिनेता तथा चर्चित खलनायक प्रदीप सिंह रावतको निधन भएको छ । रक्त क्यान्सर (ब्लड क्यान्सर) बाट पीडित ७४ वर्षीय रावतको मंगलबार साँझ मुम्बईको कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
चार वर्षअघि नै क्यान्सरलाई जितेका रावतलाई करिब डेढ महिनाअघि पुनः सोही रोग बल्झिएको थियो । उनको निधनको खबर उनकी श्रीमती कल्याणी रावत र म्यानेजर सिद्धार्थ तिवारीले आधिकारिक रूपमा पुष्टि गरेका छन् । आज (बुधबार) बेलुका मुम्बईमै उनको अन्तिम संस्कार गरिने तयारी छ ।
'गजिनी' को भिलेनदेखि 'महाभारत' को अश्वत्थामासम्म
सन् १९८५ मा 'मेरी जंग' चलचित्रबाट अभिनय यात्रा सुरु गरेका रावतले बिआर चोपडाको ऐतिहासिक टेलिसिरियल 'महाभारत' मा गुरु द्रोणाचार्यका पुत्र 'अश्वत्थामा' को जीवन्त भूमिका निभाएर देश-विदेशमा ठूलो ख्याति कमाएका थिए ।
आमिर खानको ब्लकबस्टर फिल्म 'गजिनी' मा मुख्य खलनायक 'गजिनी धर्मात्मा' को क्रूर भूमिका निभाएपछि उनी विश्वभर चर्चित बने । यसबाहेक आमिर खानकै ओस्कार मनोनीत फिल्म 'लगान' मा 'देवा', 'सरफरोश', 'राउडी राठोर' र 'चन्द्रकान्ता' जस्ता कयौँ लोकप्रिय चलचित्र तथा सिरियलहरूमा उनले सशक्त अभिनय गरेका थिए । बलिउडसँगै तेलुगु र तमिल चलचित्रमा पनि उनको जबरजस्त क्रेज थियो ।
नेपाली चलचित्रसँगको आत्मीय सम्बन्ध
अभिनेता प्रदीप रावतको नेपाल र नेपाली चलचित्र क्षेत्रसँग पनि विशेष सम्बन्ध रहेको थियो । उनले नेपाली कथानक चलचित्र 'आ बाट आमा' र बहुप्रतीक्षित फिल्म 'ह्रस्व दीर्घ' मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । चलचित्रको छायांकन र प्रचारप्रसारका सिलसिलामा उनी केही समयअघि नेपालसमेत आएका थिए । भर्खरै मात्र उनले नेपाली चलचित्र 'आ बाट आमा-२' को छायांकन समेत सकाएका थिए ।
कला क्षेत्र स्तब्ध, विपना थापाद्वारा दुःख व्यक्त
उनको आकस्मिक निधनले भारतीय र नेपाली चलचित्र जगतमा गहिरो चोट पुगेको छ । रावतसँगै नेपाली चलचित्रमा सहकार्य गरेकी लोकप्रिय नेपाली अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् । त्यस्तै, निर्देशक चन्द्र पन्त, अभिनेता हरिहर अधिकारी लगायत नेपाल र भारतका थुप्रै सिनेकर्मी तथा सर्वसाधारणले उनीप्रति श्रद्धासुमन व्यक्त गरिरहेका छन् ।
प्रतिक्रिया