टेक्सास । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान आएको अचानकको बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ । स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार यो बाढीमा परेर अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ ।
ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालबालिका अझै सम्पर्कविहीन छन्। केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत थप व्यक्तिहरू हराइरहेका हुन सक्ने र मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको बताए ।
टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन्। ग्वाडालुपे नदीको पानीको सतह एकैचोटी २६ फिट (करिब ८ मिटर) ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन छन् ।
शिविरका प्रमुखले पठाएको सन्देशअनुसार बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
हाल बाढीबाट प्रभावित क्षेत्रमा ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। सयौँ सुरक्षाकर्मी तथा दर्जनौँ उड्ने साधनको माध्यमबाट उद्धार कार्य जारी छ र उद्धार टोलीहरू रातदिन खटिएका छन्।
स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान सबै नागरिकलाई अनुरोध गरेको छ, किनभने धेरै सडकहरू अवरुद्ध अवस्थामा छन् ।
विज्ञहरूका अनुसार हालका वर्षहरूमा मानव निर्मित जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र गर्मीका लहरहरू बारम्बार र बढी तीव्र रूपमा देखिन थालेका छन्।
अमेरिकाको टेक्सासमा विनासकारी बाढीका कारण मृत्यु हुनेको संख्या २५ पुगेपछि टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद् भएको छ ।
टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको भारी वर्षा हुँदा बाढी आएको गार्जिएनले जनाएको छ । अचानकको भारी वर्षाले नदीको सतह झन्डै ४५ मिनेटमै २६ फिट (७.९ मिटर) बढेको अधिकारीहरुले बताएका छन् ।
बाढीका कारण बेपत्ता भएकाहरु नभेटिएसम्म उद्धार कार्य जारी रहने अधिकारीहरुले बताएका छन् । टेक्सास मिलिटरी डिपार्टमेन्टका मेजर जनरल थोमस एम. सुएल्जरका अनुसार शुक्रबार रातिसम्म २३७ जना भन्दा बढीको उद्धार गरिएको छ । अधिकांशलाई हेलिकोप्टरको सहायताले उद्धार गरिएको उनले बताए ।
बाढीका कारण ग्वाडालुपे नदी किनारमा अवस्थित छात्रा आवास क्रिस्चियन समर क्याम्पका २३ देखि २५ जना हराइरहेका छन् । यो क्याम्प सान एन्टोनियादेखि उत्तर–पश्चिम १०५ किलोमिटरको दूरीमा पर्छ ।
टेक्सासका अधिकारीहरुका अनुसार कर काउन्टीमा १४ वटा हेलिकोप्टर, १२ वटा ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार कार्य चलिरहेको छ ।
बाढीमा फँसेका केही वयस्क र बालिबालिकाहरुलाई रुखबाट समेत उद्धार गरिएको थियो । टेक्सास गभर्नर ग्रेग एबटले घटनालगत्तै शनिबारमा उद्धार कार्य जारी रहेको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नर एबटसँग मिलेर सरकार बाढीपीडितहरुको उद्धार तथा राहत कार्यमा जुटेको बताएका छन् । ‘हामी उनीहकरुको हेरचाह गर्छौं,’ ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरुसँग कुरा गर्दै बाढीलाई ‘डरलाग्दो र आश्चर्यजनक’ भनेका छन् ।
प्रतिक्रिया