×

ओमानमाथि नेपालको ऐतिहासिक १० रनको जित: बलरहरूको सानदार पुनरागमनले जोगियो नेपालको छैटौँ स्थान!

images

काठमाडौँ, कात्तिक २ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो अन्तिम तथा निकै महत्त्वपूर्ण खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ । अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको रोमान्चक खेलमा जित निकाल्दै नेपालले लिग–२ को अङ्कतालिकामा छैटौँ स्थान सुरक्षित गरेको छ ।

नेपालले दिएको २८१ रनको बलियो लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

बलिङमा नेपालको सानदार पुनरागमन

ओमानका लागि ओपनर जतिन्दर सिंहले ८९ रन र हम्माद मिर्जाले ८७ रन बनाउँदै दोस्रो विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गरेपछि एक समय नेपाल दबाबमा देखिएको थियो। तर, खेलको उत्तरार्धमा नेपाली बलरहरूले शानदार पुनरागमन गर्दै ओमानको रन गतिमा ब्रेक लगाए र महत्त्वपूर्ण विकेटहरू चट्काए।

नेपालका लागि घातक बलिङ गर्ने क्रममा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए भने सन्दीप लामिछाने र नन्दन यादवले १–१ विकेट हात पारे। ओमानका लागि हसनैन शाहले ४० रन थपे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

रोहित र दिपेन्द्रको कीर्तिमानी साझेदारी

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवातका बाबजुद निर्धारित ५० ओभरमा अलआउट हुँदै २८० रनको बलियो योगफल खडा गरेको थियो । नेपालका ओपनर आसिफ शेख ७ रनमै आउट भएपछि संकटमा परेको इनिङ्सलाई देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन बनाएर उकासेका थिए।

त्यसपछि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि १३९ रनको ऐतिहासिक कीर्तिमानी साझेदारी गरे। रोहितले सर्वाधिक ८० रन बनाउने क्रममा जारी लिग–२ को चक्रमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटरको कीर्तिमान समेत रचे । अर्कोतर्फ आक्रामक ब्याटिङ गरेका दिपेन्द्रले ६२ बलमा ६९ रन को योगदान दिए । ओमानका शाह फैसलले ५ विकेट लिएका थिए।

छैटौँ स्थान पक्का, ओडीआई मान्यताको सम्भावना बलियो

यस निर्णायक खेलमा जित निकालेसँगै नेपाल ३६ खेलबाट ३० अङ्क जोड्दै क्यानडालाई पछि पारेर अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। लिग–२ को शीर्ष ६ भित्र रहँदा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता प्रत्यक्ष रूपमा कायम रहने सम्भावना निकै बलियो बनेको छ । यदि आजको खेल नेपालले हारेको भए सातौँ स्थानमा सीमित हुँदै प्लेअफ खेल्नुपर्ने बाध्यता रहन्थ्यो ।


 

सोमबार ३ कात्तिक २०८३ ०७:३५ PM मा प्रकाशित

प्रतिक्रिया