काठमाडौं। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच नयाँ दिल्लीमा कूटनीतिक भेटवार्ता भएको छ।
राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत हुन्। केही समयअघि नेपाल भ्रमणमा आएका बेला सगरमाथा आधार शिविरमा ड्रोन परीक्षण गरी भारत फर्किएका राजदूत गोरले नेपालमै रहँदा पनि सभापति लामिछानेसँग भेटघाट गरेका थिए।
भारत भ्रमणमा रहेका कुनै पनि नेपाली राजनीतिक दलका नेतालाई भारतका लागि अमेरिकी राजदूतले तेस्रो मुलुकमै पुगेर भेट गरेको यो पहिलो पटक हो। राजनीतिक तथा कूटनीतिक मर्यादाका दृष्टिकोणले दुर्लभ मानिएको यस भेटघाटलाई नेपाली राजनीति र कूटनीतिक वृत्तमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।
भेटका क्रममा नेपाल र अमेरिकाबीचको ऐतिहासिक तथा कूटनीतिक साझेदारीलाई थप मजबुत र प्रगाढ बनाउने विषयमा दुई पक्षबीच गहन विचार आदानप्रदान भएको छ।
अमेरिकी पक्षले नेपालसँगको शताब्दीऔँ पुरानो मित्रतालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै राजदूत गोरले दुवै देशको समृद्धि, विकास र अवसर अभिवृद्धिका लागि साझा प्राथमिकताका क्षेत्रहरूमा निरन्तर सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया