काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अंक जोडेको छ।
जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो। ‘प्लेअफ’मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन्। उसका लागि रवि बोपाराले २९, देव खनालले २८ रन बनाए। साथै अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमको जीतमा पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक-एक विकेट लिए। तीन जना ब्याटर रनआउट भए।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकमा २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए। ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे। ओपनर बिनोद भण्डारीले २१ रनको योगदान दिए। इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन बनाए।
चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक/एक विकेट लिए।
आजको खेलसँगै अन्तिम चारमा पुग्ने तेस्रो टोली पनि पक्का भएको छ । सुदूरपश्चिम यसअघि नै अन्तिम चारमा पुगेको थियो भने काठमाडौँ गोर्खाज बिहीबार दिउँसो भएको खेलमा पोखरालाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो । काठमाण्डु लिग चरणका सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अङ्कसहित दोस्रो स्थानमा छ ।
आज चितवन पराजित भएसँगै विराटनगरको ‘प्लेअफ’ स्थान सुरक्षित भएको छ । विराटनगर लिग चरणका ६ मध्ये दुई खेलमा हार र चार खेलमा जितसहित आठ अङ्क बटुेर तेस्रो स्थानमा छ ।
अब अन्तिम चारको एक स्थानका लागि चार टोली लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोज प्रतिस्पर्धामा छन् । शुक्रवार जनकपुरसँग हुने लिग चरणको आफ्नो अन्तिम खेल जितेमा लुम्बिनी आठ अङ्कसहित ‘प्लेअफ’मा पुग्नेछ भने अन्य तीन टोलीको यात्रा टुङ्गिनेछ ।
शुक्रवारको खेल जनकपुरले जितेमा भने ‘प्लेअफ’को प्रतिस्पर्धा रोचक बन्नेछ । समान ६ खेल खेलेको लुम्बिनीको ६ अङ्क छ भने पोखराको चार अङ्क छ।त्यस्तै, पाँच खेल खेलेको जनकपुरको दुई अङ्क मात्रै छ । जनकपुर अर्को खेलमा शुक्रवार लुम्बिनीसँग र अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीमा प्लेअफको दौडबाट बाहिरिएको छ ।
प्रतिक्रिया