काठमाडौँ । अर्थ मन्त्रालयले जेनजी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइतेको उपचारका लागि स्वदेश तथा विदेशमा विभिन्न गैर सरकारी संघ संस्थाहरूले रकम संकलन गरिरहेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनरूत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरी सहयोग आव्हान गरेको उल्लेख गर्दै स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न देहाय अनुसार कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न गराउन सबैमा अनुरोध गरेको छ ।
साथै मन्त्रालयले कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निर्माणका साथै जेनजी आन्दोलनका सहिद तथा घाइते परिवारका प्रतिनिधिहरू समेतको सहभागितामा समुचित उपयोग गरिने समेत स्पष्ट गरेको छ ।
अर्थ मन्त्रालयको विज्ञप्ति:
सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र माग सहित मिति २०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम विभिन्न गैर सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको जानकारी प्राप्त भएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । समानान्तर र अपारदर्शी ढङ्गले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध रहेको छ ।
नेपाल सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनरूत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरी सहयोग आव्हान गरेको ब्यहोरा सबैमा विदितै छ । अतः स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि सङ्कलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न देहाय अनुसार कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न गराउन हुन अनुरोध छ।
यस कोषमा जम्मा हुने रकमबाट राहत र पुनर्निर्माणका साथै जेन-जी सहिद तथा घाइते परिवारका प्रतिनिधिहरू समेतको सहभागितामा समुचित उपयोग गरिने ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।
योगदान रकम जम्मा गर्ने बैङ्क खाताको विवरणः-
खाताको नामः- भौतिक पूर्वाधार पुनर्निर्माण कोष
(PHYSICAL INFRASTRUCTURE RECONSTRUCTION FUND)
बैङ्कको नामः- राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार, काठमाडौं ।
खाता नं.- 1960100102070004
SWIFT CODE: RBBANPKA
प्रतिक्रिया