आजसत्तारूढ गठबन्धनको बैठक बस्दैछ।
बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ८ बजे बोलाइएको छ। सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो।
बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
कोशीमा राष्ट्रिय सभा निर्वाचनको परिणामाबाट सुरु भएको सत्ता गठबन्धन भित्रको खटपटलाई लिएर यतिवेला सत्ता गठबन्धन कै निरन्तरतालाई लिएर विभिन्न अड्कलबाजीहरु भइरहेका छन्।
यद्यपि बैठकमा मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गठबन्धनको बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको विषयमा पनि छलफल हुने बताइएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले दाबी गरेका छन् ।
गठबन्धन भित्रको वर्तमान अवस्था र मन्त्रिमण्डल पुनर्गठनका विषयमा कुरा गर्न प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको तर्फबाट बनेका मन्त्रीहरुलाई निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका थिए।
प्रतिक्रिया