काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार व्यवसायीहरुको विरुद्धमा रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले व्यवसायीहरुलाई सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने नचाहेको बताएका हुन् । उनले सहजीकरण भन्दा पनि सरकारले व्यवसायीलाई निचोर्ने र दुहुने नीति लिएको बताए ।
‘अहिले एउटा खतरा के भने देश आर्थिक रुपले अप्ठ्यारोमा छ । अप्ठ्यारोमा भएको बेलामा व्यवसायीहरुलाई सहुलियत दिएर अप्ठ्यारो अर्थतन्त्रलाई सहजीकरण गर्ने जिम्मेवारी राज्यको हुनुपर्नेमा अझ तिनलाई निचोर्ने, दुहुने र त्यहीबाट आर्थिक समस्या हल गर्ने जो प्रवृत्ति नेपालमा छ, समस्याको चुरो त्यही हो साथीहरु,’– उनले भने ।
अहिले विदेशबाट पैसा (रेमिट्यान्स) आउन छाडेको, लगानी पनि नभित्रिएको र बैंकमा पैसा थुप्रिएको अवस्था रहेको बताउँदै प्रचण्डले सरकारले व्यवसायका लागि उपयुक्त वातावरण बनाउनै नचाहेको बताए । राज्यले सोझा, सिधा, कमजोर र धेरै आम्दानी नहुने ब्यवसायीको हरुलाई करमाथि कर थुपारेर त्यहीबाट समस्याको हल खोजेको उनको टिप्पणी छ । आफू राज्यको यस्तो नीतिको विरुद्धमा रहेको पनि प्रचण्डले बताए ।
प्रतिक्रिया