×

अध्ययन अनुसन्धान एवं नीति निर्माणमा सहकार्य गर्न राष्ट्र बैंक र महासंघबीच समझदारी

images

काठमाडौं । वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच सझदारी भएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरे । 

सहमतिअनुसार राष्ट्र बैंक र महासङ्घले विविध विषयमा तथ्य र तथ्यांकमा आधारित अध्ययन अनुसन्धान गर्नेछन् । यस सम्झौताले राष्ट्र बैंक र महासंघबीच हातेमालो गर्ने अवसर सिर्जना गरेको र आगामी दिनमा नीति निर्माणमा निजी क्षेत्रको सहभागिता बढने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग केन्द्रीय बैंकको सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा वास्तविकतामा आधारित नीति निर्माण गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । साथै यसले सही सूचना प्रवाहित हुने उनको भनाइ थियो ।  

समझदारीअनुसार राष्ट्र बैंकले समय समयमा गर्ने अध्ययनमा महासंघ र सदस्य संस्थाहरुले आवश्यक सूचना एवं जानकारी उपलब्ध गराउने छ भने महासंघले गर्ने अध्ययनमा राष्ट्र बैंकको प्राविधिक सहयोग प्रदान गर्ने र आवश्यकताअनुसार संयुक्त अध्ययन अनुसन्धान पनि हुनेछ । 

समझदारी कार्यान्वयनका लागि सहजीकरण सेल निर्माण हुनेछ भने समझदारी पाँच वर्षसम्म लागू हुने जनाइएको छ । राष्ट्र बैंकमा आयोजित हस्ताक्षर कार्यक्रममा राष्ट बैंकका डेपुटी गभर्नर डा.निलम ढुङ्गाना, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्सना श्रेष्ठलगायतको उपस्थिति थियो । 

शुक्रबार​ १७ कात्तिक २०८० ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया