काठमाडौँ । पश्चिमी मेक्सिकोको मिचोआकान राज्यमा एक मेयरलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ ।
मेक्सिकोको मृत्यु दिवस मनाउने कार्यक्रममा भीडलाई सम्बोधन गर्ने क्रममा मेयर कार्लोस अल्बर्टो मान्जो रोड्रिगेजलाई सात गोली लागेको रिपोर्टमा उल्लेख छ । उनी उरुआपान शहरका मेयर थिए । प्रहरीले घटना लगत्तै मेयरलाई अस्पताल लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको बताएको छ । गोलीबारीमा एक नगर परिषद् सदस्य र एक अंगरक्षक पनि घाइते भएका छन्। प्रहरीले आक्रमणकारीको पनि घटनास्थलमै मृत्यु भएको बताएको छ ।
संघीय सुरक्षा मन्त्री ओमर गार्सिया हार्फुचले मेयरलाई गोली हान्न प्रयोग गरिएको हतियार यस क्षेत्रमा कार्यरत दुई अपराध संगठनहरूको भएको बताएका छन् । राजनीतिक र संगठित अपराध हिंसाका कारण मेक्सिकोमा राजनीतिज्ञहरूमाथि आक्रमण सामान्य हुदै गएको छ ।
मेयरको हत्याको कारण अझै थाहा स्पष्ट भएको छैन । मिचोआकान मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्यहरू मध्ये एक मानिन्छ र लामो समयदेखि यस क्षेत्रमा प्रभुत्वको लागि विभिन्न गिरोह र लागूपदार्थ तस्करहरू बीच झगडा हुने गरेको छ ।
गत महिना मात्र, उरुआपानका मेयरले राष्ट्रपति शेनबाउमलाई संगठित अपराध समूहहरू र आपराधिक गिरोहहरू विरुद्ध कारबाही गर्न अपील गरेका थिए । मेयरले मिचोआकानका गभर्नर र राज्य प्रहरी विभाग विरुद्ध भ्रष्टाचारको गम्भीर आरोप लगाएका थिए ।
प्रतिक्रिया