×

पाँच प्रहरी नायव महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

images

काठमाडौं । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) हरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहेका छन् । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवम् कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खापुङ्गले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै विगतमा भएका घटनाहरूको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताए । साथै आगामी दिनमा देखापर्न सक्ने चुनौतीहरूलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले सांगठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी संगठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सोमबार १८ कात्तिक २०८२ ०७:४३ PM मा प्रकाशित

प्रतिक्रिया