×

कसले जित्ला गोल्डेन बुट? एम्बाप्पे र मेस्सीबीच कडा टक्कर, दौडमा यी ६ स्टार खेलाडी

images

काठमाडौं । फिफा विश्वकप २०२६ को ट्रफी कुन देशले उचाल्ला भन्ने जति चर्चा छ, मैदानमा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउने ‘गोल्डेन बुट’ को दौड पनि त्यत्तिकै रोमाञ्चक मोडमा पुगेको छ। प्रतियोगितामा टोलीहरू नकआउट हुँदै बाहिरिने क्रम जारी रहँदा गोल्डेन बुटको प्रतिस्पर्धा भने झन् झन् तातिएको छ।

अहिले जारी ‘राउन्ड अफ ३२’ को खेलहरूसँगै दाबेदारहरूको समीकरण पनि परिवर्तन भइरहेको छ। यसपटकको दौडमा विश्व फुटबलका हस्तीहरू एकअर्कालाई पछि पार्न लागिपरेका छन्। अहिलेको स्थिति हेर्दा गोल्डेन बुटको दौडमा मुख्य रूपमा ६ जना स्टार खेलाडीहरू अग्रपंक्तिमा देखिएका छन्।

१. किलियन एम्बाप्पे (फ्रान्स) – ६ गोल, २ असिस्ट

अहिलेको दौडमा सबैभन्दा अगाडि फ्रान्सका कप्तान किलियन एम्बाप्पे रहेका छन्। उनले मात्र ४ खेल खेल्दै ६ गोल र २ असिस्ट गरिसकेका छन्। सेनेगल र इराकविरुद्ध उत्कृष्ट दुई–दुई गोल गरेका उनी नर्वेविरुद्ध भने शान्त रहे। तर, राउन्ड अफ ३२ को खेलमा स्वीडेनविरुद्ध पुनः २ गोल थप्दै उनी शीर्ष स्थानमा उक्लिएका हुन्।

  • आगामी यात्रा: फ्रान्सको अबको भेट पराग्वेसँग हुँदैछ, जुन फिफा र्‍याङ्किङ (फ्रान्स १ नम्बर र पराग्वे ३४औँ स्थान) का आधारमा फ्रान्सका लागि सहज मानिएको छ। क्वार्टरफाइनलमा उनको टोलीले मोरोक्को वा क्यानडामध्ये एकको सामना गर्नेछ। फ्रान्स जति अघि बढ्छ, एम्बाप्पेको गोल संख्या अझै बढ्ने निश्चित छ।

२. लियोनल मेस्सी (अर्जेन्टिना) – ६ गोल

एम्बाप्पेलाई कडा टक्कर दिइरहेका एक मात्र खेलाडी हुन्– फुटबलका जादुगर लियोनल मेस्सी। मेस्सीको खातामा पनि ६ गोल नै छ, तर असिस्ट संख्या नभएका कारण उनी अहिले दोस्रो स्थानमा छन्। मेस्सीको बलियो पक्ष के छ भने उनले एम्बाप्पेभन्दा एक खेल कम खेलेका छन्।

  • आगामी यात्रा: अर्जेन्टिनाले अब केप भर्डेको सामना गर्दैछ। समूह चरणमा अल्जेरियाविरुद्ध ह्याट्रिक, अस्ट्रियाविरुद्ध २ र जोर्डनविरुद्ध १ गोल गरिसकेका मेस्सीले केप भर्डेविरुद्ध केवल १ गोल गरे पनि उनी शीर्ष स्थानमा पुग्नेछन्। त्यसपछि टोलीको सामना इजिप्ट वा अस्ट्रेलियासँग हुन सक्छ। यद्यपि, क्वार्टरफाइनलमा कोलम्बिया वा सेमिफाइनलमा ब्राजिल/इङ्ल्यान्डजस्ता बलिया टोली आउन सक्ने हुँदा मेस्सीको आगामी बाटो सहज भने छैन।

३. ह्यारी केन (इङ्ल्यान्ड) – ५ गोल

इङ्ल्यान्डका भरपर्दा स्ट्राइकर ह्यारी केनले डीआर कंगोविरुद्ध २ गोल थप्दै आफ्नो कुल गोल संख्या ५ पुर्‍याएका छन् र आफूलाई यो रेसमा बलियो गरी उभ्याएका छन्।

  • चुनौती: केनको अगाडिको बाटो निकै चुनौतीपूर्ण छ। इङ्ल्यान्डको अबको भिडन्त मेक्सिकोसँग हुनेछ, जसले अहिलेसम्म प्रतियोगितामा एउटै गोल खाएको छैन। मेक्सिकोलाई पन्छाए पनि क्वार्टरफाइनल र सेमिफाइनलमा ब्राजिल वा अर्जेन्टिना जस्ता महारथीहरूको पहाड तेर्सिने सम्भावना छ।

४. अर्लिङ हालान्ड (नर्वे) – ५ गोल

नर्वेका गोल मेसिन अर्लिङ हालान्डले पनि प्रतियोगितामा ५ गोल गरिसकेका छन्। व्यक्तिगत रूपमा उनी जुनसुकै डिफेन्स भत्काउन माहिर भए पनि टोलीको सन्तुलन अलि कमजोर हुँदा उनी मैदानमा केही एक्लो देखिएका छन्।

  • चुनौती: राउन्ड अफ १६ मा नर्वेको सामना सिधै ५ पटकको विश्वविजेता ब्राजिलसँग हुँदैछ। ब्राजिलको चट्टानी डिफेन्स तोड्नु हालान्डका लागि फलामको च्युरा चपाउनु सरह हुनेछ। यदि नर्वे यहीँ रोकियो भने उनको गोल्डेन बुटको सपना पनि समाप्त हुनेछ।

५. उसमान डेम्बेले (फ्रान्स) – ४ गोल

फ्रान्सका विङ्गर उसमान डेम्बेले पनि ४ गोलसहित यो रेसमा टिकिरहेका छन्। तर, उनको लडाइँ विपक्षी टोलीसँग मात्र नभएर आफ्नै टिमका कप्तान एम्बाप्फेसँग पनि छ, जो गोलको बर्सात गरिरहेका छन्।

६. भिनिसियस जुनियर (ब्राजिल) – ४ गोल

ब्राजिलका स्टार भिनिसियस जुनियर पनि ४ गोलसहित दौडमा छन्। रोचक कुरा के छ भने, अब ब्राजिल र नर्वे आमनेसामने हुँदैछन्। यसको अर्थ भिनिसियस वा हालान्डमध्ये एक जनाको यात्रा यहीँ सकिने निश्चित छ।

शुक्रबार​ १९ असार २०८३ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया