काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुले दुःसाहस गरिरहेको बताएका छन् । आज (मंगलबार) माओवादी केन्द्रले आजदेखि सुरू गरेको काठमाडौं उपत्यका केन्द्रीत नेवा र तामसालिङ जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुको दुःसाहसविरुद्ध ईँटको जवाफ पत्त्थरले दिन तयारी गरेर बस्न आग्रह गरेका हुन् ।
प्रचण्डले राजावादीहरुको दुःसाहसको विरुद्धमा माओवादीले सबैतिर भण्डाफोर गरिरहेको र उनीहरको षड्यन्त्र सफल हुने अवस्था नरहेको बताए । राजावादीहरुको हत्या, हिंसा, आगजानी, तोडफोडको विरुद्धमा आफूहरु लागिरहेको उनले बताए ।
‘यता राजावादीहरुसँग त चैत १४ देखि हामी जहाँ गएका छौं, उनीहरुको षड्यन्त्र सफल हुनेवाला छैन । त्यसका विरुद्ध हामीहरु आक्रमक ढंगबाट प्रस्तुत भएका छौं । हामी अहिले शान्तिपूर्ण संघर्षको कालमा छौं । तर, राजावादी बितण्ड चैत १५ गते जसरी देखियो, उनीहरुले गरेको हत्या, हिंसा, आगजनी, तोडफोड सबैको बारेमा हामीले अहिले युवाहरुलाई, विद्यार्थीहरुलाई, हाम्रा सबै संगठनहरुलाई भनेका छौं– हाम्रो आन्दोलन त शान्तिपूर्ण छ अहिले । हामी हतियारबद्ध होइनौं । तर, राजावादीहरु निरङ्कुशतातिर फर्किने दुःसाहस गर्छन् र हामीमाथि आक्रणमा आउँछन् भने ईँटको जवाफ पत्थरले दिने तयारी गर्नुस्,’– उनले भने ।
उनले सबैतिर ठाउँ–ठाउँमा, टोल–टोलमा राजावादीहरु भन्नेहरुको कुतर्कको खण्डण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले राजा र राजपरिवारले २४० वर्ष शासन गर्दा गरेको कुकृत्य सबै नेपाली जनतालाई जानकारी गराएर पर्दाफास गराउन समेत आग्रह गरे । राजावादीहरुले गरेको हत्या, हिंसा, बलात्कारको विभीषिकाहरु पर्दाफास गर्न प्रचण्डको निर्देशन रहेको छ ।
‘नमिता, सुनिता हत्या काण्ड कसले गरेको हो ? बलात्कार गरेर सेती नदीमा फाल्ने को हुन् ? त्यही दरबारले होइन ? कोतपर्व, भण्डारखाल पर्व, दरबार हत्याकाण्ड कसले गरेको हो ? जनतालाई थाहा छैन ?’ प्रश्न गर्दै उनले भने ।
प्रतिक्रिया