×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले आफु आइतबार भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान जान लागेको बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

२- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा राजीनामा दिन तयार भएका छन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि लामा मुख्यमन्त्री छोड्न तयार भएका हुन् । उनले आइतबार राजीनामा दिने देउवालाई जानकारी गराएका छन् ।  देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा लामाले नियुक्त गरेका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको छ । लामाले दलको नेतामा पराजित भएपछि गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर प्रदेश प्रमुख विरामी भएको भन्दै तोकिएको शपथको कार्यक्रम स्थगित भएको थियो । 

३- नेकपा (माओवादी केन्द्र) को शुक्रबारदेखि सुरू भएको स्थायी कमिटीको आजको बैठक सकिएको छ । शनिबारको बैठकमा १८ जना स्थायी कमिटी सदस्य, ५ जना पदाधिकारी र एक जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका थिए । अब बैठक आइतबार पुनः ११ बजे देखि सुचारू हुने भएको छ । शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेका थिए ।

४- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले भन्दैमा पार्टी छोडेर नजाने बताएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी छोड्ने भन्ने कुरा कल्पना पनि नगर्ने भन्दै अध्यक्ष माधवकुमार नेपालले दिएका अभिव्यक्तिले आफुलाई दुख लागेको प्रतिक्रिया दिएका छन् । उनले भने- '३२ सालदेखि संगै आएको नेताले, कम्युनिष्ट पार्टीका नियमहरु राम्रोसंग बुझेको होला भन्ने लागेको थियो । माधव कुमार नेपालका मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने सोचेकै थिइन् । उहाँले आदेश दिने वित्तिकै कसैले छोड्छ । मैले उहाँ भव्य नेता हो भन्ने लागेको थियो तर यति तल्लो स्तरको चिन्तन छ भन्ने लागेको थिएन । यो पेटी बुर्जुवा चिन्तन हो । मैले बोलेका कुराले लेखेका कुराले समस्या भएको छ भने पार्टी त छ त, बैठक बोलाएर छलफल गर्न सकिन्छ । यहाँसम्म आउदा नेपाल धेरै परिपक्क हुनु भएको होला भन्ने लागेको थियो तर सन्तुष्ट हुन सकिएन ।' खनालले आफ्नो नेपालसँग एमसीसी, जबज र वैज्ञानिक समाजवाद, पार्टी सरकारमा जाने विषय, चुनावमा गठबन्धन गर्ने भन्ने विषयमा असहमति रहेको बताए । 

५- प्रधानमन्त्री केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदहरुका सङ्कल्पलाई. पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज आयोजित २८ औँ तुल्सीलाल स्मृति दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले तुल्सीलालले निष्ठा र त्यागको राजनीतिका आधारमा देखाएको आदर्शलाई पछ्याउँदै अघि बढ्ने सङ्कल्प गर्नुपरेको बताए । उनले संविधानसभाबाट गणतन्त्र ल्याउने अग्रजहरुको लामो समयदेखिको दूरदृष्टिकै आधारमा संविधानसभाले नेपालको संविधान बनाएको स्मरण गरे ।

६- १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई प्रहरीले पक्राउ गरेको छ ।  सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

७- रौतहटको ईशनाथ-२ स्थित बनाना रिसोर्टमा आगलागि भएको छ । शनिबार विहान भएको आगलागीमा करिब ४० लाखको आटी भएको बताइएको छ । रिसोर्टका संचालक राकेस गुप्ताका रिसोर्टमा करिब १५ लाख रूपैया बराबरको विभिन्न कृषिमा प्रयोग हुने मेशीनहरू र खाधान्न, फर्निचर, फ्रिजहरू लगायतका समानहरू जलेर नष्ट भएको छ । घटनाका जानकारी हुनासाथ स्थानीय, प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । आगलगीको मूख्य कारण थाहा नभएपनि बिजुलीबाट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । बनाना रिसोर्टमा मानिसहरू केराबाट बनेका विभिन्न परिकारको स्वाद लिने गर्दथे ।

८- आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयलाई लिएर मन कुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको  हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ । निर्वाचन आयोगले आयोजना गरेको सर्वदलीय छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी उपनिर्वाचनदेखि नै विदेशमा रहने नेपालीहरूका लागि मतदानको व्यवस्था सुनिश्चित गर्न माग गरेको हो । छलफलमा पार्टीका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले आउँदो कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनबाटै विदेशबाट मतदान गर्ने प्रक्रिया पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरे ।

१०- हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’ बारे अहिले चर्चामा रहेको छ । हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’ लाई लिएर अनेक टिप्पणी भइरहेका बेला माओवादी केन्द्र र राप्रपा आमने सामने भएका छन् । हृदयेन्द्रको भ्लगको विषयमा राजनीतिक टिप्पणी समेत शुरु भएको छ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले दिएको अभिव्यक्ति पनि अहिले चर्चामा छ । जुम्लाबाट प्रतिनिधिसभा सांसद लामाले यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’ को संज्ञा दिएकी छन् । लामाले फेसबुकमार्फत हृदयन्द्रको भ्लगलाई राजतन्त्रको झल्को दिने र गणतन्त्रको उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको आरोप समेत लगाएकी थिइन् । उनले राजतन्त्र कालमा जुम्लामाथि भएको शोषण र क्रूरताको इतिहास स्मरण गर्दै गणतन्त्रले १५ वर्षमै बाटो, इन्टरनेट र स्वास्थ्य सेवा पुर्‍याएको दाबी गरेकी छन् । सांसद लामाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले उनको टिप्पणी असभ्य, अमर्यादित र पाखण्डपूर्ण भनेका छन् । उनले भनेका छन्-  नवयुवराज हृदयेन्द्र वीर विक्रम शाहको ‘जुम्ला भ्लग’बारे माओवादी सांसद छिरिङ ल्हामु लामाको टिप्पणी असभ्य, अमर्यादित र पाखण्डपूर्ण छ। जुम्लाको सभ्यता, सौन्दर्य र पहिचानलाई विश्वमाझ चिनाउने बहुचर्चित ‘भ्लग’लाई लिएर जुम्लाकै सांसद लामाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा नागरिकको स्वतन्त्रता र अथितिको मर्यादा विपरीत छ । नेकपा माओवादी केन्द्रलाई प्रश्न : नवयुवराज हृदयेन्द्रका बारे तपाईको पार्टीबाट जुम्लाकी समानुपातिक सांसद लामाको सार्वजनिक अभिव्यक्तिमा पार्टीको धारणा प्रतिबिम्बित छ ? छैन भने तिनले सार्वजनिक माफी मागुन् !

११- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्दीय सदस्य सीता बस्यालले साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएकी छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत बस्यालले राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले पार्टीमा रहँदा पाएको अनुभव, साथ,सहयोग,विश्वासप्रति उनले आभार समेत प्रकट गरेकी छन् । अध्यक्षलाई सम्बोधन गर्दै उनले भनेकी छन्- म यो पत्रमार्फत तपाईंलाई जानकारी गराउन चाहन्छु कि म, सीता बस्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्य दुवै पदबाट आजको मितिदेखि राजीनामा दिएको घोषणा गर्दछु । पार्टीमा रहँदा पाएको अनुभव, साथ, सहयोग र विश्वासप्रति आभार प्रकट गर्दछु । आगामी दिनहरूमा पार्टीलाई उत्तरोत्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दै म मेरो औपचारिक जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेकी छु ।

१२- फिल्म ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो । हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको चलचित्रको पहिलो झलक पोष्टरमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फूलेको छ । लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको छ । चौरमा एक पुरुषसहित सात महिला छन् । जो भलिबल खेलिरहेका छन् । प्रदर्शन मिति तय नभएको यो चलचित्रलाई २०२६ भित्र रिलिज गर्ने निर्माण पक्षले लिएको छ ।

१३- राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेपछि अभिनेता शाहरुख खानले निर्णायक मण्डल, सूचना तथा प्रसारण मन्त्रालय र भारत सरकारलाई धन्यवाद दिएका छन् । शाहरुख खानले एक भिडियो साझा गर्दै अभिनय एउटा काम मात्र नभएर जिम्मेवारी पनि भएको बताउदै यो अवार्डले सिनेमाको सेवा गरिरहन प्रेरणा दिएको बताएका छन् । शाहरुख खानले भनेका छन्- 'राष्ट्रिय चलचित्र पुरस्कार केवल एउटा उपलब्धि मात्र होइन । यसले मलाई सम्झाउँछ कि म के गर्छु त्यो महत्त्वपूर्ण छ । यसले मलाई अगाडि बढ्न, कडा परिश्रम गर्न र सिनेमाको सेवा गरिरहन भन्छ । यो पुरस्कार मेरो लागि सम्झना गराउँछ कि अभिनय केवल एउटा काम होइन तर एउटा जिम्मेवारी हो। पर्दामा सत्य देखाउनु जिम्मेवारी हो ।' उनले निर्देशक एटली सहित फिल्म 'जवान' को सम्पूर्ण टोलीलाई पनि धन्यवाद दिए । ७१औं राष्ट्रिय चलचित्र पुरस्कार २०२३ को शुक्रबार घोषणा गरियो । यस पटक दुई कलाकारलाई उत्कृष्ट मुख्य भूमिकामा पुरस्कार प्रदान गरियो । शाहरुख खानले 'जवान' को लागि र विक्रान्त मेसीले '१२ फेल' को लागि यो पुरस्कार प्राप्त गरे । त्यस्तै 'मिसेस चटर्जी भर्सेस नर्वे' मा उनको शक्तिशाली अभिनयको लागि रानी मुखर्जीलाई उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरियो ।

१४- दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनले टोटनह्याम छोड्ने निर्णय गरेका छन् । सनले टोटनह्याम छोड्ने निर्णयमा पुगिसकेको र क्लबलाई खबर समेत गरिरसकेको जानकारी दिएका छन् । पत्रकार अलासडेयर गोल्डसँग कुरा गर्दै सनले भनेका छन्- 'मैले टोटनह्याम छोडने भनेको छु । मेरो निर्णय भइसकेको छ, मैले यहाँ आफ्नो उत्कृष्ट प्रयास गरे र मलाई अब नयाँ चुनौती चाहिन्छ । यो मेरो जीवनको सबैभन्दा कठिन निर्णय हो । म बच्चाको रूपमा उत्तरी लन्डन आएको थिए । म जवानीको रूपमा छोड्दैछु । सन २०१५ मा जर्मनी क्लब बायर लिभरकुसनबाट टोटनह्याम आएका थिए । ३३ बर्षिय सनले टोटनह्यामका लागि अहिलेसम्म ४५४ खेल खेल्दै १७३ गोल गरेका छन् । उनले टोटनह्याममा २०२४-२५ को युरोपा लिग जितेका थिए भने २०१८-१९ को च्याम्पियन्स लिगको उपविजेता बनेका थिए । मिडिया रिपोर्टका अनुसार सन अमेरिकन मेजर लिग सकर क्लब लस एन्जल्स एफसी जानसक्ने बताइएको छ ।

१५- इङल्याण्डविरुद्धको पाँचौं टेस्ट खेलमा भारतले कमब्याक गरेको छ । पहिलो इनिंगमा इङल्याण्डलाई २४७ रनमा अल आउट गरेर बलरले भारतीय टिमलाई कमब्याक गराएका हुन् । योसँगै इङल्याण्डले पहिलो इनिंगमा २३ रनको अग्रता लिएको छ । इङल्याण्डका लागि ज्याक क्रवलीले सर्बाधिक ६४ रन बान्ये भने ह्यारी ब्रुकले ५३ रन बनाएका थिए । त्यस्तै बेन डकेटले ४३ रन बनाए भने जो रुटले २९ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर मोहमद सिराज र प्रसिद्ध कृष्णले ४-४ विकेट लिएका थिए भने एक विकेट आकास दीपले लिएका थिए । यो समाचार तयार गरुन्जेल तेस्रो दिनको लन्चसम्म भारतले ३ विकेट गुमाएर १८९ रन बनाएको छ र १६६ रनको अग्रता लिएको छ ।  

१६- फेसबुकको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गको पछिल्लो दाबीले उनीहरूलाई दुःखी बनाउन सक्छ । जुकरबर्गले स्मार्टफोन, ल्यापटप वा कुनै पनि पीसीलाई भविष्य भनेका छैनन्, तर एआईद्वारा संचालित स्मार्ट चश्मालाई भविष्य भनेका छन् । उनले तपाईंसँग एआईद्वारा संचालित स्मार्ट चश्मा छैन भने, तपाईं घाटामा हुनुहुनेछ भन्ने दाबी गरेका छन् । जुकरबर्ग भन्छन्, भविष्यमा स्मार्ट चश्माले प्रयोगकर्ताहरूलाई दिनभरि डिजिटल एआई हेर्न, सुन्न र अन्तर्क्रिया गर्न सक्षम बनाउनेछ ।

१७- अमेरिकी संघीय अदालतले बाल दुर्व्यवहारको मुद्दामा एलन मस्कको कम्पनी एक्सविरुद्ध मुद्दा चलाउन आदेश दिएको छ । यसले मस्कको समस्या बढाउन सक्ने देखिएको छ । अदालतले यस मुद्दामा एक्सलाई व्यापक छुटको हकदार भएको स्वीकार गरे पनि अदालतले सामाजिक सञ्जाल प्लेटफर्मले बालबालिकाको आपत्तिजनक भिडियो हटाउन लापरवाही गरेको पनि बताएको छ । सान फ्रान्सिस्कोस्थित ९औं अमेरिकी सर्किट अपील अदालतले एक्स, पहिले ट्विटर, दुई नाबालिग केटाहरूको अश्लील तस्वीरहरू भएको भिडियो तुरुन्तै राष्ट्रिय मिसिङ एण्ड एक्सप्लोइटेड चिल्ड्रेनमा रिपोर्ट नगरेको आरोप छ र यस विषयमा लापरवाही गरेको थियो । यो मुद्दा मस्कले २०२२ मा ट्विटर किन्नुभन्दा पहिलेको हो । एक ट्रायल न्यायाधीशले डिसेम्बर २०२३ मा मुद्दा खारेज गरेका थिए । यद्यपि, अब पुनरावेदन अदालतले मुद्दा सुरु गर्न निर्देशन दिएको छ ।

१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई आणविक पनडुब्बीहरूलाई 'उपयुक्त स्थानहरूमा तैनाथ' गर्न आदेश दिएको बताएका छन् । पूर्व रूसी राष्ट्रपति दिमित्री मेदवेदेवको 'उत्तेजक' बयानको प्रतिक्रियामा उनले यो कदम चालेका हुन् ।  ट्रम्पले भनेका छन्- 'पूर्व रूसी राष्ट्रपति र हाल रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवको अत्यन्तै उत्तेजक बयानको आधारमा, मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु ।' ट्रम्पले भने- 'यो सावधानीका रूपमा गरिएको हो, किनभने यो सम्भव छ कि यी गैरजिम्मेवार र उत्तेजक बयानहरू केवल शब्दहरूमा मात्र सीमित नहुन सक्छन् । शब्दहरूले धेरै अर्थ राख्छन् र कहिलेकाहीं अवांछित परिणामहरू निम्त्याउन सक्छन्। आशा छ कि यस पटक यो हुनेछैन ।' ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको छ भनेर बताएका छैनन् । यो जानकारी अमेरिकी सेनाको प्रोटोकल अन्तर्गत गोप्य राखिएको छ ।

१९- भारतको कर्नाटकको विशेष अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेका जनता दल धर्मनिरपेक्ष (जेडीएस) का नेता तथा पूर्व सांसद प्रज्वल रेवन्नालाई आजीवन कारावासको सजाय सुनाएको छ । विशेष अदालतका न्यायाधीश सन्तोष गजानन भट्टले रेवन्नालाई आजीवन कारागारको सजाय सुनाएका हुन् । अदालतले रेवन्नालाई १० लाख रुपैयाँ जरिवाना गरेको छ भने र पीडितलाई ७ लाख क्षतिपूर्ति तिर्न पनि आदेश दिएको छ । अदालतले शुक्रबार रेवन्नालाई दोषी ठहर गरेको थियो । रेवन्नाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै कम सजायको लागि अदालतमा अपील गरेका थिए । रेवन्नाविरुद्ध बलात्कारका चार मुद्दा दर्ता रहेका छन् । यो मुद्दा हसन जिल्लामा रहेको रेवन्ना परिवारको गन्निकाडा फार्महाउसमा घरेलु कामदारको रूपमा काम गर्ने ४८ वर्षीया महिलासँग सम्बन्धित छ ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टीव विटकफले शुक्रबार पहिलो पटक गाजाको रफाह नजिकै इजरायली र अमेरिकी समर्थित सहायता वितरण स्थलको भ्रमण गरेका छन् । उनीसँगै इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी र इजरायल रक्षा बल (आइडीएफ) का अधिकारीहरू पनि सहभागी थिए । विटकफको भ्रमण राहत वितरण केन्द्रहरूमा घातक गोलीबारी भएको रिपोर्ट पछि भएको हो । संयुक्त राष्ट्र संघले सहायता स्थलहरू वरिपरि कम्तिमा ८५९ प्यालेस्टिनीहरू मारिएको बताएको छ । यद्यपि, केन्द्रले यो तथ्याङ्कलाई अस्वीकार गरिरहेको छ ।

 

शनिबार १८ साउन २०८२ ०७:३० PM मा प्रकाशित

प्रतिक्रिया