×

वर्तमान सरकार विचार शून्य र लोकतान्त्रिक विचार, मूल्य, मान्यताबाट च्यूत भएको माओवादीको निष्कर्ष

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सबैतिर असफल भइसकेको निष्कर्ष निकालेको छ । आज (बिहीबार) बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरुलाई यस्तो ब्रिफिङ गरेका हुन् ।

पार्टी उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णय सुनाउँदै भने, ‘सरकार हरेक कुरामा अनुपस्थितजस्तै छ । एक प्रकारले भन्ने हो भने सरकार असफल भइनैसकेको छ । बरु सरकार उल्टो दिशातिर जान लागिरहेको छ । सुशासनका विरुद्धमा, भ्रष्टाचार गर्नेहरुको संरक्षणमा, माफियाहरु, विचौलियाहरुको संरक्षणमा सरकार लागिरहेको छ ।’

उपाध्यक्ष सापकोटाले सरकार नाफामा गइरहेको विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङको विरुद्धमा लागेको, अदालतमा मुद्दा रहेका विवादित व्यापारीसँग जग्गा दान लिएको लगायतका विषयमा चर्चा भएको उनले बताए । यी घटनाले सरकारले प्रथम दृष्टिमै भ्रष्टाचारलाई पक्षपोषण गरेको पुष्टि हुने उनको भनाइ छ ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयलाई गुण्डाहरुका क्रिडास्थल बनाएको प्रवक्ता सापकोटाले बनाए । इतिहासमै पहिलो पटक ओलीले सिंहदरबारमा सिनेट बैठक राखेको उनले बताए । सिनेटको बैठक सोही प्राज्ञिक थलोमा गर्नुपर्नेमा प्रशासनिक थलोमा गरिएको उनले बताए । मेरिटोक्रेशीको आधारमा छानविनएका त्रिविका उपकूलपति केशरजंग बराल ओलीलाई मन नपरेको उपाध्यक्ष सापकोटाको भनाइ छ ।

वर्तमान सरकार विचार शून्य रहेको र लोकतान्त्रिक विचार, मूल्य, मान्यताबाट च्यूत भएको माओवादीको निष्कर्ष छ । अहिले सरकार नेतृत्व गरेको पार्टी एमालेभित्र लोकतन्त्र समाप्त भएको उपाध्यक्ष सापकोटाले बताए । एमालेले बोल्न मुख थुनेर शासन गर्न खोजेको उनले बताए ।

‘ज–जसले राम्रो काम गरेका छन्, जो–जो सु्शासनतिर छन्, तिनीहरुलाई अवरोध सिर्जना गर्ने, दुःख दिने, निकाल्न प्रयत्न गर्ने र विचौलियाहरु र भ्रष्टाचारीहरुलाई जोगाउने काम भइरहेको छ,’– उनले भने ।

सरकारले अरुकालाई छानीछानी कारबाही गर्ने, पक्रने र आफ्नालाई जोगाउने काम गरिरहेको उनको भनाइ छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, लेखा समितिका सदस्य ऋषिकेश पोखरेललगायतको सहकारी ठगीमा संलग्नता पुष्टि हुने प्रशस्त आधार हुँदापनि सरकारले नै जोगाइरहेको बताए । सरकार दिनप्रतिदिन अधो गतितिर गइरहेको माओवादीको निष्कर्षछ ।

सरकारको ज्यादति र अधीनायकवादी शैलीले नागरिक समाज पनि वाक्क–व्याक्क भइरहेको माओवादीको निष्कर्ष छ । सरकारको ज्यादतिबाट वाक्क भएर नागरिक समाज पनि उदासिनजस्तो देखिएको उपाध्यक्ष सापकोटाले बताए ।

बिहीबार १८ पुस २०८१ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया