×

भारी हिमपात र वर्षाले मुस्ताङको कोरला नाका र सडक बन्द

images

मुस्ताङ। ‘अर्नब’ चक्रवातको प्रभावका कारण उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन अस्तव्यस्त बनेको छ।

शुक्रबार रातिदेखि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले जानकारी दिएका छन्। त्यसैगरी, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङदेखि तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेको छ। कात्तिक महिनामै पहिलोपटक यति बाक्लो हिमपात भएको स्थानीय तहले जनाएको छ।

नेपाल-चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा दुई देखि तीन फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिका-४ न्हेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) ले जनाएको छ।

बीओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार बढेको जोखिमका कारण कोरलातर्फको सडकमा सवारीसाधन र पर्यटकको आवागमन रोकिएको छ। भन्सार जाँचपास भइसकेका कन्टेनर तथा विद्युतीय सवारीसाधनलाई समेत न्हेचुङबाट अगाडि नबढ्न आग्रह गरिएको छ भने मौसम सामान्य नभएसम्म सीमा व्यापार तथा निकासी-पैठारी बन्द गरिएको छ।

वर्षा र हिमपातका कारण जोमसोम-कोरला सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। घरपझोङ गाउँपालिका-४ जोमसोमतर्फ पर्यटक चेकपोस्टभन्दा अगाडि र वारागुङ मुक्तिक्षेत्र-३ छुसाङमा पहिरो खसेपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले जानकारी दिएका छन्।

अचानक बढेको अत्यधिक चिसो र हिमपातका कारण उपल्लो मुस्ताङका बस्ती, खर्क, पाटन तथा उच्च लेकाली क्षेत्रहरू सेताम्मे भएका छन्।

यस विषम मौसमका कारण मुस्ताङ भ्रमणमा रहेका पर्यटक, स्थानीय बासिन्दा र ढुवानीमा खटिएका चालकहरूलाई उच्च सुरक्षा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

शनिबार १५ कात्तिक २०८३ ०२:१३ PM मा प्रकाशित

प्रतिक्रिया