×

वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन

images

काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार विहान ११ बजेतिर उनको निधन भएको हो । 
भोजपुर, छिनामखुमा २००४ साल असोज ४ गते जन्मिएका ७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए । उनले नियमित किमोथेरापी गराउँदै आएका थिए ।

 रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका रसिक नेपाली गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुन् । उनको गीत लेखन र गायनमा नेपाली समाजको दुःख, संघर्ष, उन्नति र सपनाको सरल प्रस्तुति तर गम्भिर अर्थ भेटिन्छन् ।


उनले नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढि संग्रह पनि प्रकाशित गरेका छन् 
रसिक बहुआयमिक व्यक्ति थिए । उनका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ हरू कालजयी गीत हुन्  ।

‘क्षितिजलाई छुन खोज्दा (कथासंग्रह), ‘रसिकका गीतहरू’ (गीतसंग्रह), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास), ‘दशगजामा उभिएर’, ‘जब सिस्नुहरू टेक्दै हिँडे’, पाँच पुस्तकको ‘पेरुङ्गो’ (संस्मरण) लगायत रसिकका प्रकाशित किताब हुन् ।

उनले  रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदामा जिम्मेवारी निर्वाह गरेका थिए ।

आइतबार​ १९ जेठ २०८२ ०२:४६ PM मा प्रकाशित

प्रतिक्रिया